गान्तोक, 18 मई। आवश्यक्तामा परेका रिनाक निर्वाचन समष्टिका 207 भन्दा अधिक बिरामीहरुलाई उपचारका लागि आज चेक वितरण गरिएको छ। रोडाथाङ बजारमा आयोजित यस कार्यक्रममा गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोले विशेष रूपमा उपस्थित थिए। उनकै बाहुलीद्वारा बिमारीहरूलाई यो सहयोग राशिको चेक हस्तान्तरण गरियो।
रिनाक निर्वाचन समष्टिमा गत फरवरी महिनामा मुख्यमन्त्री प्रेमसिंह तामाङको जनता भेटघाट कार्यक्रम अवधि मुख्यमन्त्री समक्ष बिरामीहरुले सहयोगको आवेदन गरेका थिए। आजको यस कार्यक्रममा मुख्यमन्त्रीका सीए उर्गेन शेर्पा, मुख्यमन्त्रीका परामर्श चिकित्सक डाक्टर सुवास तामाङ, एसकेएम सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नविन दाहाल, जिल्ला पञ्चायत उपाध्याक्ष प्रभा प्रधान, सीएलसी अध्यक्ष सन्तोष सुब्बा, मुख्यमन्त्री चिकित्सा सहायता योजनाका स्वास्थ्य समन्वयक निशा तामाङ र पदम गुरूङ आदि उपस्थित थिए।
आफ्नो सम्बोधनमा गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेले राजनीति होइन सेवाको भावना हुनु पर्ने मन्तव्य राख्दै भाषण होइन हामी सहयोगमा विश्वास राख्दछौं भनी बताए। उल्लेख्य छ, प्रमुख संरक्षक प्रभाकर गोलेले पार्टी कार्यकर्ताहरूको सहयोगमा निरन्तर रिनाक समष्टिका गाउँ गाउँमा पुगेर जनताको यथास्थितिको जानकारी लिएका थिए।
यसैगरी आफ्नो सम्बोधनमा डा. सुवास तामाङले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर विभिन्न कार्यक्रम एवं स्वास्थ्य योजना शुरू गरिएको जानकारी गराए। मुख्यमन्त्री चिकित्सा सहायता योजना लगायत मुख्यमन्त्री सहायता योजनाबारे उनले जानकारी गराउँदै यसबाट सोझै लाभार्थीहरूले लाभ प्राप्त गरिरहेको अवगत गराए।

Leave a comment