नाम्ची, 18 अप्रेल। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईले सिद्धेश्वर धामको आगामी 15औं स्थापना वर्ष समारोहको निम्ति चलिरहेको तयारीको जायजा लिन आज भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले समारोहको लागि भइरहेका विभिन्न कार्यहरूको कार्यान्वयनको निरीक्षण गरे। र काम पूर्ण गतिमा अगाडि बढिरहेको बताए।

विधायक राईले परिसरको विस्तृत भ्रमण गर्दै सरसफाई र उचित फोहोर व्यवस्थापनको महत्त्वमा जोड दिए। उनले समारोहअघि आवश्यक सबै काम समयमै सम्पन्न गर्न सम्बन्धित विभागका अधिकारीहरूलाई स्पष्ट निर्देशन दिएका छन्। उनले धाम परिसरको पवित्रता र सुव्यवस्था कायम राख्न समन्वित प्रयासहरूको आवश्यकतामाथि जोड दिए।
यसरी नै विधायक राईले धामका कर्मचारीहरूलाई वीवीआईपी अतिथिहरूको न्यानो एवं सम्मानपूर्ण स्वागत सुनिश्चित गर्न निर्देश दिए। उनले मन्दिरको प्रवेशद्वारहरूलाई आकर्षक बनाउन थप सजावटमाथि ध्यान केन्द्रित गर्न सुझाउ पनि दिए।
यस भ्रमण अवधि विधायकको साथमा नाम्चीकी एडीसी त्रिसाङ तामाङ, एसडीएम सरण कालिकोटे, लाइन विभागका प्रमुखहरू, सिद्धेश्वर धामका मुख्य प्रशासक एनएम शर्मा आदि पनि उपस्थित थिए।
