गान्तोक, 23 सेप्टेम्बर। सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको भातृ संगठन एसकेएम संस्कृति शाखाले आगामी 29 सेप्टेम्बरमा रक्तदान शिविर आयोजना गर्ने निर्णय लिएको छ। रक्तदान शिविर राज्यका कलाकारहरूलाई लिएर गरिने छ भने यसमा कलाकारहरूले मात्र रक्तदान गर्न पाइने बताइएको छ।
उक्त जानकारी एसकेएम संस्कृति शाखाका पदाधिकारीहरूले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए। एसकेएम संस्कृति शाखाका उपाध्यक्ष डा. मनोज राईले आगामी 29 सेप्टेम्बरका दिन संस्थाले एमजी मार्गमा रक्तदान शिविर आयोजना गरिरहेको बताए, जसको नामकरण ‘कलाकार रक्तदान’ गरिएको छ। उनले रक्तदान सिक्किमका कलाकारहरूलाई लिएर गरिने र कलाकारहरूले मात्र रक्तदान गर्ने बताए।
उनले रक्तदानको आयोजनालाई लिएर कलाकारहरूसॅंग कुराकानी भएको र सबैको सर सल्लाह र सहमतिमा शिविर आयोजना गर्ने निर्णय लिइएको बताए। उनले शिविरलाई ध्यानमा राख्दै जिल्ला समन्वयकहरू चयन गरिएको र राज्यभरिका कलाकारहरूबाट समर्थनको निम्ति आह्वान गरे। उनले उक्त दिन रक्तदान शिविरका साथै कलाकारहरू आफ्नो कला प्रस्तुतिको माध्यमद्वारा मनोरञ्जन पनि प्रदान गर्ने बताए।
यसैगरी, एसकेएम संस्कृति शाखाका अध्यक्ष उत्तम प्रधानले सम्भवत: कलाकारहरू मिलेर रक्तदान शिविर आयोजना गरेर यो पहिलो चोटी रहेको बताए। उनले शिविरलाई सफल तुल्याउन राज्यका सबै कलाकारहरूलाई यसमा जोडिन आह्वान गरे।
Leave a comment


