गान्तोक, 17 अक्टोबर। अङ्किता भण्डारी प्रकरणमा पछिल्लो घटनाक्रमलाई लिएर भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशले आफ्नो धारणा सार्वजनिक गरेको छ। अङ्किताका आमाबुबाले दिल्लीमा केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) का वरिष्ठ अधिकारीहरूसँग भेट गरेको र छानबिन निष्पक्ष तथा तटस्थ रूपमा गरिने आश्वासन पाएको बताइएको घटनाक्रमलाई पार्टीले स्वीकार गरेको छ।भाजपा सिक्किम प्रदेशले अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त गर्दै सत्य र न्यायको खोजीमा परिवारले निरन्तर गरिरहेको प्रयासको सम्मान गरेको छ। एक युवतीको मृत्यु अत्यन्त दुःखद रहेको उल्लेख गर्दै शोकसन्तप्त आमाबुबाका चिन्तालाई संवेदनशीलता, मर्यादा र गम्भीरताका साथ सम्बोधन गरिनुपर्ने पार्टीले जनाएको छ।यसैबीच, दुष्यन्त कुमार गौतमलाई सिक्किमको राज्यपाल नियुक्त गरिएको विषयमा पार्टीले संवैधानिक प्रक्रियाको सम्मान गर्दै नयाँ राज्यपालका रूपमा जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका उनलाई शुभकामना व्यक्त गरेको छ।कानुनको शासन कायम राख्नु, न्यायिक प्रक्रियाको सम्मान गर्नु र सत्यको खोजीलाई पूर्वाग्रहपूर्ण वा राजनीतिकरण हुन नदिनु सबैको सामूहिक जिम्मेवारी रहेको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धानबाट बाँकी रहेका सबै प्रश्नको स्पष्ट जवाफ प्राप्त हुने र अङ्किता भण्डारीको परिवारले खोजिरहेको सत्यबारे जानकारी पाउने आशा पनि पार्टीले व्यक्त गरेको छ।


