गान्तोक, 09 फरवरी । सिक्किम सरकारले गरिब र निम्न वर्गका बिरामीहरूलाई स्वास्थ्य सेवा पुर्यााउनको लागि निरन्तर प्रयास गर्दै आएको छ। यस क्रममा आज 45 जना बिरामीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिका, किन्स र नियोटिया अस्पतालहरूमा पठाइएको छ। ती बिरामीहरू मध्ये 9 जना किड्नी र 36 जना गल ब्ल्याडरका बिरामीहरू रहेका छन्।
बिरामीहरूको सम्पूर्ण प्रक्रिया गरीब जनकल्याण प्रकोष्ठको समन्वयमा चलिरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, प्रकोष्ठका सदस्यहरूले बिरामीहरूको स्वास्थ्य सेवामा कुनै कसर बाँकी राखेका छैनन् र उनीहरूको उपचारका लागि सबै आवश्यक कदमहरू चालिरहेका छन्। यस अभियानको मुख्य उद्देश्य गरिब र निम्न वर्गका बिरामीहरूलाई उपचारका लागि सहज पहुँच पुर्याउनु हो।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन र निर्देशनमा यो अभियान निरन्तर रूपमा अगाडि बढिरहेको छ ,विज्ञप्तिमा भनिएको छ। मुख्यमन्त्रीको सकारात्मक दृष्टिकोण र उदार भावनाका कारण गरिब समुदायका बिरामीहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागि यो विशेष पहल गरिएको हो।
जनकल्याण प्रकोष्ठका प्रमुख संयोजक मनोज लामा, योजना सल्लाहकार दिपेश भण्डारी, चिकित्सा संयोजक दिपक गौतम लगायत सिलगढीको तीनवटा अस्पतालमा कार्यरत प्रकोष्ठका समन्वयक लिना राई, दिव्या पराजुली, रेनु गुरुङ र अन्य सदस्यहरूले पनि बिरामीहरूको स्वास्थ्य व्यवस्थामा नियमित निगरानी राख्दै उपचार प्रक्रियामा सहयोग गर्दै आइरहेको बताइएको छ।
यसअघि पनि प्रकष्ठले सयौँ बिरामीहरूलाई उपचारका लागि उच्चस्तरीय अस्पतालमा पठाइसकेको छ। आज पठाइएका बिरामीहरूलाई पनि उत्कृष्ट चिकित्सकीय उपचार प्राप्त हुनेछ र यसले सिक्किमका गरिब जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ र जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेप्रति बिरामी र उनका अभिभावकहरूले आभार प्रकट गरेका छन्।

Leave a comment