गान्तोक, 23 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा केन्द्रिय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान र लोकसभा अध्यक्ष ओम बिरलासॅंग भेट गरे। यस भेट अवधि मुख्यमन्त्रीले केन्द्रिय नेतृत्वहरूलाई सिक्किम राज्य स्थापनाको 50औं वर्षगाँठको अवसरमा वर्षभरि मनाइने समारोहमा भाग लिन औपचारिक निमन्त्रणा दिएँ, जसलाई उनीहरूले विनम्रतापूर्वक स्वीकार गरेको आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
केन्द्रिय कृषिमन्त्रीसॅंग भएको भेटघाटको क्रममा कृषि विकास र नीतिहरूमाथि विस्तृत छलफल भएको मुख्यमन्त्रीले बताएका छन्। उनले सिक्किममा अलैंची खेती सुधार गर्न र उत्पादनलाई असर गर्ने बोटबिरुवा रोगहरूलाई सम्बोधन गर्न वैज्ञानिक हस्तक्षेपको आवश्यकतामाथि जोड दिएको बताएका छन्। यसैगरी, उनले ग्रामीण सम्पर्क बढाउन प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत केन्द्रको सहयोगको लागि पनि अनुरोध गरे।
केन्द्रिय मन्त्रीले कृषि चुनौतीहरूको प्रत्यक्ष मूल्याङ्कन गर्न सिक्किममा विज्ञहरूको टोली पठाउने आश्वासन दिए। उनले कृषि भूमिमा प्रयोगशालाहरू ल्याउने महत्त्वमा जोड दिॅंदै राज्यको कृषि पारिस्थितिक प्रणालीलाई बलियो बनाउन पूर्ण सहयोगको आश्वासन दिए।
मुख्यमन्त्रीले सिक्किमका किसानहरूलाई सहयोग गर्ने उनको सकारात्मक प्रतिक्रिया र प्रतिबद्धताको लागि आभार व्यक्त गरेका छन्।

Leave a comment