मङ्गन, 07 अप्रैल। मङ्गन पुलिसले सोमबार जङ्गुको पासिङदाङ बीएसीबाट एक महिनाव्यापी साइबर अपराध सचेतना अभियान शुरु गरेको छ। यस अभियानको उद्देश्य सरकारी कर्मचारी तथा सर्वसाधारणलाई बढ्दो डिजिटल जोखिमबारे सचेत गराउनु र सुरक्षित अनलाइन अभ्यासलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।स्टेशन हाउस अफिसर पीआई प्रशान्त राईले उद्घाटन सत्रको नेतृत्व गर्दै डिजिटल पक्राउ ठगी, अनलाइन जुवा ठगी र जाली ऋण योजनाजस्ता प्रचलित साइबर अपराधबारे जानकारी गराए। उनले १९३० नम्बरको हेल्पलाइनसहितको राष्ट्रिय साइबर अपराध पोर्टलमार्फत समयमै शिकायत दर्ता गर्नुको आवश्यकतामा जोड दिए।एचडीएफसी ब्याङ्क (मङ्गन) का शाखा प्रबन्धक नरेन्द्र गुरुङले पनि सहभागीहरूलाई सम्बोधन गर्दै ग्राहक सेवा तथा गुनासो समाधानका लागि आधिकारिक ब्याङ्किङ हेल्पलाइन (१६०० र १४००) बारे जानकारी दिए। उनले साइबर ठगीको अवस्थामा समयमै जानकारी गराएमा ‘शून्य दायित्व’ सुरक्षा सुविधा पाइने विषयमा पनि प्रकाश पारे।साइबरसम्बन्धी अपराधको जटिलता र बढ्दो घटनालाई ध्यानमा राख्दै यो अभियान जङ्गुका दुर्गम क्षेत्रहरूमा पनि सञ्चालन गरिनेछ। यस अभियानले जनचेतना अभिवृद्धि गर्दै जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यो पहल सिक्किमका पुलिस महानिदेशकको साइबर सचेत समाज निर्माण गर्ने दृष्टिकोणअनुसार अघि बढाइएको बताइएको छ।


