गान्तोक, 02 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को एउटा महत्वपूर्ण सभा आज पार्टी अध्यक्ष पवन चामलिङको निवासमा सम्पन्न भयो।
सभालाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष चामलिङले भने, असल नेता उसँग रहेको असल विचारले बन्छ, असल विचारले नै असल सिद्धान्त बनाउँछ। त्यही असल सिद्धान्तले मात्र असल नीति बनाउँछ। असल नीतिले असल कार्यक्रम बनाउॅंछ। असल कार्यक्रमले मात्र असल सरकार बनाउॅंछ।
उनले अहिले सिक्किममा असल सरकार नहुनाले एसडीएफ सरकारकालमा प्रफुल्लित जनता दुखी बनेको दाबी पनि गरे। उनले जनतालाई न्याय दिलाउन, उनीहरुका हक दिलाउन र सुखमय जीवन दिलाउन एसडीएफ पार्टी लागिपर्नुपर्छ भनी कार्यकर्ताहरूलाई आह्वान गरे।
उनले भने, एसडीएफ सरकारकालमा कृषि उत्पादित सामाग्रीमाथि रहेका सबै करहरु मिनाहा गरिएको थियो। किसानले आफ्नो उत्पाद बेच्दा कुनै ट्याक्स तिर्नु पर्दैन्थ्यो।बिजुली बत्ती नि:शुल्क गरिएको थियो, तर अहिले सबैमा कर लादिएको छ। त्यसताक पशुपालन र सागसब्जी उत्पादन मौलाएर आएको थियो। ग्रामीण जनताका जीवनमा खुशीयाली त्यसै छाएको थिएन, त्यो हाम्रै असल कार्यक्रमको सुखद फल थियो।
चामलिङले अहिले यो व्यवस्था नै मासिएर गएको र नै ग्रामीण जनता पीरमा छन भनी बताए। एसडीएफ पार्टीले त्यही जनताबाट खोसिएको खुशीयाली र न्याय फर्काएर पुन: जनतालाई हस्तान्तरण गर्न पूर्ण जिम्मेवारी लिनुपर्छ भनी बताए। उनले जनतालाई आत्मनिर्भर बनाउन पार्टीले जनसंगठन बनाउनुपर्छ भने।
उनले भने, जनतालाई उनीहरुको हक, हित र सुरक्षाबारे अवगत गराउनुपर्छ र जनतालाई उनीहरुको शत्रु चिनाइदिनुपर्छ। आफ्ना हक, हित र सुरक्षाका लागि अघि बढ्ने र शत्रुसँग लड्न सक्ने बनाउनै पर्छ। हामीले जनतालाई यस कार्यमा पूरा साथ र सहयोग पुर्याउनु पर्छ।
सभामा उपस्थित अन्य सदस्यहरुले आआफ्ना सुझाउ राख्दै पार्टीको सन्देशलाई जनतासम्म पुर्याउने दृढता व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
Leave a comment


