गान्तोक, 27 जुलाई। भारतीय जनता पार्टी (भाजपा) सिक्किममा राजधानी छेउ आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार सामेल भएका छन्। राष्ट्रवाद, सुशासन तथा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वबाट प्रेरित भई उनीहरूले पार्टीको सदस्यता ग्रहण गरेको प्रदेश भाजपाले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ।प्रवेश कार्यक्रममा प्रदेश अध्यक्ष डीआर थापा, प्रदेश महासचिव अर्जुन राई, साथै पार्टीका वरिष्ठ नेताहरू, पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले नवप्रवेशी सदस्यहरूलाई भाजपा परिवारमा हार्दिक स्वागत गरे।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले भारतीय जनता पार्टीको विचारधारा तथा “सेवा ही संगठन” को मूल मन्त्रबारे प्रकाश पार्दै नयाँ सदस्यहरूलाई निःस्वार्थ भावनाका साथ जनसेवामा समर्पित हुन आग्रह गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले सञ्चालन गरेका विभिन्न जनकल्याणकारी तथा विकासमुखी योजनाबारे जनतालाई जानकारी गराउँदै घर-घरमा पुग्न आह्वान गरे। उनले संगठनलाई प्रत्येक तहमा बलियो बनाउन अनुशासन, समर्पण र एकताको महत्त्वमा जोड दिए। प्रदेश अध्यक्षले भारतीय जनता पार्टी एउटा क्याडरमा आधारित संगठन रहेको उल्लेख गर्दै प्रत्येक समर्पित कार्यकर्तालाई अघि बढ्ने, जिम्मेवारी वहन गर्ने तथा राष्ट्र निर्माणमा अर्थपूर्ण योगदान दिने समान अवसर प्राप्त हुने बताए। उनले नयाँ सदस्यहरूलाई पार्टीका मूल्य, आदर्श र अनुशासनलाई आत्मसात गर्दै इमानदारी र निष्ठापूर्वक कार्य गर्न प्रेरित गरे। उनले सिक्किमभर भाजपाप्रति बढ्दो जनसमर्थनले पार्टीको नेतृत्व र नीतिप्रति जनविश्वास निरन्तर बढिरहेको स्पष्ट देखाएको बताए। उनले भारतीय जनता पार्टी नै पारदर्शी सुशासन, समावेशी विकास तथा जनमुखी कल्याणकारी योजनामार्फत आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने एकमात्र राजनीतिक दल रहेको ठोकुवा गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले प्रत्येक क्षेत्रमा अभूतपूर्व रूपान्तरणको अनुभव गरिरहेको उल्लेख गर्दै उनले “विकसित भारत” को परिकल्पनालाई साकार पार्ने उद्देश्यका साथ सिक्किमका प्रत्येक घरपरिवारसम्म विकासका लाभ पुर्याउने तथा पार्टी संगठनलाई अझ सशक्त बनाउने दिशामा भाजपा दृढतापूर्वक प्रतिबद्ध रहेको बताए।


