गान्तोक,3 अप्रेल। चिया कविता सिक्किमको आयोजनमा साहित्यकार डुकनाथ नेपालको नयाँ कथा किताब “विष कन्या” सार्वजनिक गरियो। चिया कविता सिक्किमको वार्षिक कार्यक्रम कविता देउराली 2.0 को अवसरमा रचना बुक्स गान्तोकमा आयोजित लोकार्पण कार्यक्रममा कथाकार नेपालले नेपाली कथा साहित्यका वरिष्ठ व्यक्तित्व विश्वेश्वर प्रसाद कोइरालाको परिपाटीलाई समेट्न सफल भएको विष कन्याको समिक्षा गर्दै कथाकार विमल काफ्लेले सराहना गरे। सिक्किमबाट सिक्किमबारे विरलै लेखिने साहित्यमा विष कन्या एउटा परेको तथा यसले स्थानीय राजनैतिक चेत, सामाजिक विडम्बना तथा राष्ट्रिय पहिचान सङ्कटका सकसहरूलाई उठान गरेको बताए। यसैगरि यसले भारतीय नेपालीहरूको विभिन्न समसामयिक असुविधाहरूलाई पनि कथामा उतारेको बताए। उनले विष कन्या पठनीय कथा सङ्ग्रह रहेको बताए। अर्कोतिर कार्यक्रममा शुभकामना मन्तव्य नाटककार चुन्नीलाल घिमिरेले राखेका थिए। उनले कथाकार नेपालले जातीय चेतनालाई बलियोसित समातेर साहित्य निर्माण गरेको बताए। यसैगरि उनले सिक्किमबाट विरलै उठान गरिने सन्दर्भहरूलाई पनि समेट्न सफल भएको बताए।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै कथाकार नेपालले नेपाली जाति विश्वकै श्रेष्ठ जाति रहेका तथा विश्वभरिका नेपाली एक हुनुपर्ने चेतनाको विकास गर्ने आह्वान गरे। आफूले जातिको लागी समय दिएको तथा जातिको सुरक्षा र विकासको निम्ति सबैले एकपल्ट सोच्नु पर्ने अवस्था रहेको बताए। उनले आफूले सिर्जना गरेका साहित्यिक त्यहीँ चेत र अधिकांश सत्यमा आधारित र भोगाइमा अन्तरनिहित रहेको अनुभवहरूलाई कथामा दस्तावेजीकरण गरिदिएको बताए।
विष कन्याको लोकार्पण सिक्किम अकादेमीका अध्यक्ष प्रवीण राई जुमेली, नेपाली साहित्य परिषदकी उपाध्यक्ष रत्ना लक्सम सुब्बा, वरिष्ठ गायक लेखक देव कुमार राई दुमी, नाटककार चुन्नीलाल घिमिरे, युवा कवि अवन्तिका प्रधान,आकाश प्रधान, साहित्यकार टिबिचन्द्र सुब्बा,कथाकार विमल काफ्ले तथा कवि अमर बानियाँ लोहोरोको बाहुलीबाट गरिएको थियो।
कविता देउराली 2.0 मा कालेबुङका गजलगो धिरेन संघर्ष,सिक्किमका कवि मणिका शर्मा, रूपा तामाङ, अमर बानियाँ लोहोरो, निलम गुरुङ, दावा योञ्जन, अम्बर लाछिकाठी, भीम रावत, विश्वजित वास्कोटा,पीएन प्रधान, रेखा शर्मा, सरोजनी तामलिङ,सोनाम पाल्जोर,इसा प्रधान,अङ्किता प्रधान, आकाश प्रधान, लुइस विष्ट, अविगेल राई, जिविका अश्रु,गोपाल छेत्री, रत्ना लक्सम, उषा शर्मा, सुरेश शर्माले सहभागिता दिएका थिए।
चिया कविता सिक्किमका संयोजक प्रवीण खालिङद्वारा सञ्चालित कार्यक्रममा सहभागी कविहरूलाई चिया कविताको तर्फबाट सम्झौनी प्रदान गरिएको थियो। कार्यक्रममा सिक्किम कालेबुङका विभिन्न भेकबाट कवि साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
Leave a comment


