गान्तोक, 27 अप्रेल। भारतीय जनता पार्टी सिक्किम एकाइको तत्वावधानमा आज तादोङ, गान्तोकस्थित दुर्गा मन्दिर परिसरमा राष्ट्रिय एकताको संकल्प गर्दै पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा एक “श्रद्धाञ्जलि सभा” आयोजन गरियो। सभामा सहभागीहरूले शहीदहरूप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै दुई मिनेट मौनधारण साथै दिवंगत आत्माहरूको चिरशान्तिको लागि सामूहिक प्रार्थना गरे।
यस अवसरमा भारतीय जनता पार्टी सिक्किम एकाइले सम्पूर्ण भारतीय जनताको साथमा उभिएर आतङ्कवाद र विघटनकारी शक्तिहरूको विरुद्धमा दृढतापूर्वक लडिरहने संकल्प गरेको प्रदेश भाजपाका मिडिया प्रभारी निरेन भण्डारीले बताएका छन्। देशको एकता, अखण्डता र सार्वभौमिकताका लागि पूर्ण समर्पण भावले अघि बढ्ने प्रण दोहोऱ्याइयो।
प्रदेश भाजपाले भनेको छ, हाम्रो राष्ट्र नै हाम्रो जीवनको आधार हो। जबसम्म हामी एक छौं, तबसम्म हामी सुरक्षित छौं। एकताको बलमा नै हामीले समृद्ध भविष्य निर्माण गर्न सक्नेछौं।
