गान्तोक, 14 जून। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले शुक्रवार नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग शिष्टाचार भेट गरे। राज्यपालले सिक्किमका जनताको तर्फबाट सिक्किम राज्य स्थापनाको 50 वर्षको अवसरमा प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरेको जानकारी राजभवनले आज एक प्रेस विज्ञप्तिमा दिएको छ।
यस भेट अवधि प्रधानमन्त्री र राज्यपालले सिक्किमसँग सम्बन्धित विभिन्न विकासात्मक गतिविधिहरू र कल्याणकारी कार्यक्रमहरूको बारेमा छलफल गरे। प्रधानमन्त्री मोदीले सिक्किमलाई देशको एक आदर्श राज्य बनाउन हिमाली राज्यलाई सबै तहमा सहयोग गर्ने केन्द्र सरकारको प्रतिबद्धतालाई पुन: दोहोऱ्याएका छन्।

संक्षिप्त भेटमा राज्यपाल माथुरले प्रधानमन्त्री मोदीलाई राज्यको सीमावर्ती गाउँहरूमा स्थानीय बासिन्दाहरूको स्थायी बसोबास र भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत ग्रामीण पूर्वाधार सुदृढीकरणका लागि राज्यले गरेका विभिन्न पहलहरूको जानकारी गराए।
राज्यपाल माथुरले सोही दिन नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग पनि भेट गरे। केन्द्रिय मन्त्रीसँगको शिष्टाचार भेटमा राज्यपालले सिक्किममा केन्द्र सरकार प्रायोजित विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराए। उनले सिक्किमको विकासका लागि केन्द्रिय मन्त्रीको मार्गदर्शन र सहयोगको पनि अपेक्षा गरे।
यस छोटो भेटघाटमा सुरक्षा सम्बन्धी धेरै मुद्दाहरूमाथि पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ।