गान्तोक, 02 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले परमपावन दलाई लामालाई ग्र्यामी अवार्ड प्राप्त भएकोमा हार्दिक बधाई दिएका छन्। ‘द रिफ्लेक्सन्स अफ हिस होलीनेश दलाई लामा’ ले मेडिटेशनका लागि सर्वश्रेष्ठ अडियोबुक कथन श्रेणीमा ग्र्यामी अवार्ड प्राप्त गरेका छन्।मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा परमपावन दलाई लामालाई ग्र्यामी अवार्ड प्राप्त भएकोमा हार्दिक बधाई दिएका छन्। उनले भने, ‘यो सम्मान करुणा, प्रज्ञा र सार्वभौमिक उत्तरदायित्वको चेतना जगाउन समर्पित जीवनयात्राको गौरवपूर्ण कदर हो। उहाँको सौम्य स्वर र कालजयी शिक्षामार्फत असंख्य प्राणीहरूलाई आन्तरिक शान्ति र हाम्रो साझा अन्तर्सम्बन्धित अस्तित्वको गहिरो स्मरणतर्फ मार्गदर्शन मिलेको छ।’मुख्यमन्त्रीले यी ध्यानहरूले दयाका बीज रोपिरहून्, पीड़ाको उपचार गरून् र अझ करुणामय संसारतर्फको मार्ग उज्यालो पारिरहून् भन्ने कामना गरेका छन्।


