गान्तोक, 22 जनवरी। सिक्किम पुलिस देशकै प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’ ले सम्मानित बनेको छ। अहिलेसम्म देशका 14 वटा राज्यले प्राप्त गरिसकेको यो पुरस्कार प्राप्त गर्ने सिक्किम 15औं राज्य हो।
सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेवले आज राजधानीस्थित पुलिस मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। उनले गत 16 जनवरीका दिन सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’ प्राप्त भएको सूचना गृह मन्त्रालयबाट जानकारी गराइएको बताए। सिक्किम पुलिसको लागि यो महत्वपूर्ण उपलब्धि रहेको ठहर गर्दै यसले सबै ऱ्याङ्कको सम्मान बढ़ेको उनले बताए।
डीजीपी सचदेवले यो सम्मान सिक्किम पुलिसमा कार्यरत कर्मीहरूका साथै सेवानिवृत्त पुलिस कर्मीलाई समर्पित गर्दै यो पुरस्कार सबैको परिश्रमको फल हो भनी बताए। उनले मुख्यमन्त्री तथा गृह विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङ, सिक्किम सरकार, सिक्किमका जनता र प्रेस-मिडियालाई पनि यसको श्रेय दिए।
पुलिस महानिदेशकले यो सम्मान विधिवत अलङ्करण परेड आयोजन गरेर देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने नियम रहेको पनि अवगत गराए। सम्मानको रूपमा ध्वज र प्रतीक चिन्ह प्रदान गरिने छ।
उनले ध्वज र प्रतीक चिन्ह तयार गरेपछि सिक्किम सरकारको माध्यमद्वारा केन्द्रिय गृह मन्त्रालयमा अनुमोदनको लागि पठाइने जानकारी गराए। यसपछि, सम्मान प्रदान गर्ने वीवीआईपी र अलङ्करण परेडको तिथि तय भएपछि सिक्किममै उक्त सम्मान प्रदान गरिने पनि डीजीपी सचदेवले बताए।
यस अतिरिक्त, उनले राज्यमा शान्ति, कानुन एवं व्यवस्था, जनमैत्री पुलिस, पर्यटक मैत्री पुलिस, ट्राफिक व्यवस्थापन, पुलिस-जनता अनुपात, यातायातका साधनहरूको गुणवत्ता, नवीनीकरण, साइबर फ्रण्ड आदि जस्ता मापदण्डका आधारमा उक्त पुरस्कार प्रदान गरिन्छ भने।
Leave a comment


