गान्तोक, 05 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले पद्मश्रीले सम्मानित स्वामी शिवानन्दको निधनमा गहिरो दु:ख व्यक्त गर्दै उनको आत्माको अनन्त शान्तिको निम्ति प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुकमा पद्मश्रीले सम्मानित योग शिक्षक एवं आध्यात्मिक मार्गदर्शक स्वामी शिवानन्दको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले स्व. शिवानन्दको जीवन सरलता, अनुशासन र सेवाको प्रतीक थियो भनी बताएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, उहॉंको यात्रा एक शताब्दीभन्दा अधिक समयसम्म चल्यो, जसमा योग, करुणा, मानवता र विनम्रताका शिक्षाहरूको माध्यमद्वारा अनगन्ति मानिसहरूको जीवनलाई छोए। भारत सरकारद्वारा 2022 मा पद्मश्रीबाट सम्मानित स्वामी शिवानन्दको समाजप्रति योगदान पुस्तौंसम्म कायम रह्यो। नि:स्वार्थ सेवा र आध्यात्मिक अभ्यासप्रतिको उहॉंको प्रतिबद्धताले धेरैको ह्रदयमा अमिट छाप छोडेको छ।
मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट स्व. शिवानन्दको परिवार, अनुयायीहरू र विश्वभरका प्रशंसकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै उनको आत्माले अनन्त शान्ति प्राप्त गरोस् भनी प्रार्थना गरेका छन्।

Leave a comment