गान्तोक, 09 फरवरी । खस समुदाय विरुद्ध अभद्र अनि आपत्तिजनक टिप्पणी गरेको आरोपमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले गरेको शिकायतको आधारमा सिक्किम पुलिसले सामसङ तामाङलाई पक्राउ गर्न आफ्नो कारबाही तीव्र गरेको छ। सामसङ तामाङलाई पक्राउ गर्न सिक्किम पुलिसले समर्पित तीन दल गठन गरेको छ।
सिक्किम पुलिसले आज जारी गरेको आफ्नो बयानमा भनेको छ, अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघका कार्यकारी सदस्यहरूले गरेको शिकायतको आधारमा 03 फरवरी, 2025 का दिन बीएनएसको धारा 196(1)/299/352/353(2) अन्तर्गत एफआईआर दर्ता गरियो। 02 फरवरी, 2025 देखि नै आरोपीको फोन बन्द रहेकाले कानुनी प्रावधान अनुसार आरोपीका परिवारको माध्यमद्वारा 07 फरवरी, 2025 सम्ममा आरोपीलाई सदर पुलिस थानामा उपस्थित हुन नोटिस जारी गरियो।
सिक्किम पुलिसले भनेको छ, छिमेकी पुलिससँगको समन्वयमा आरोपीको गतिविधिमाथि निगरानी शुरु गरियो। यद्यपि, जब आरोपी निर्देशन अनुसार जॉंच अधिकारी समक्ष उपस्थित भएनन्, गान्तोकको चीफ जुडिशियल मजिस्ट्रेट (सीजेएल) बाट गैर-जमानती वारेन्ट (एनबीडब्ल्यू) माग गरियो।
आरोपीलाई पक्राउ गर्न पुलिस महानिदेशकको निर्देशनमा गान्तोकका वरिष्ठ पुलिस अधीक्षकको देखरेखमा तीन समर्पित दल गठन गरिएको पुलिसले बताएको छ। यस दलमा गान्तोकका वरिष्ठ पुलिस अधीक्षक, एसडीपीओ, तीन जना पुलिस निरीक्षक र धेरै अन्य ऱ्याङ्कका अधिकारीहरू छन्। यस दलले उत्तर बंगाल र नयॉं दिल्लीका विभिन्न ठाउॅंहरूमा छापा मारिरहेको छ। आरोपीको पत्ता लगाउन र पक्राउ गर्न प्राविधिक र मानवीय दुवै जानकारी प्रयोग गरिॅंदैछ।
सिक्किम पुलिसले खोजीको क्रममा धेरै सुरागहरू अघि आइरहेको र प्रत्येक सुरागलाई सावधानीपूर्वक जाँच गरिरहेको बताएको छ। आरोपीलाई पक्राउ गर्न वरिष्ठ पुलिस अधीक्षकको नेतृत्वमा पुलिस दल विभिन्न स्थानहरूमा सक्रिय रूपमा तैनाथ रहेको बताएको छ।

Leave a comment