नाम्ची जिल्ला अन्तर्गत जिल्ला विकास समन्वय तथा अनुगमन समिति (दिशा) को 2025 को पहिलो त्रैमासिक बैठक आज नाम्चीको टाउन हलमा सम्पन्न भयो। लोकसभा सांसद तथा दिशाका अध्यक्ष डा. इन्द्रहाङ सुब्बा अध्यक्षतामा सम्पन्न भएको बैठकमा विधानसभा उपाध्यक्ष राजकुमारी थापा, विधायक सतीशचन्द्र राई, विधायक रिक्सल दोर्जी भोटिया, विधायक मदन सिन्चुरी, नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
सांसद डा. इन्द्रहाङ सुब्बाले आफ्नो सम्बोधनमा नाम्चीको उत्कृष्ट पूर्वाधारलाई प्रकाश पार्दै यसलाई सिक्किमकै उत्कृष्ट बताए। उनले राजस्व उत्पन्न गर्न राज्य सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए। यसका साथै, उनले अनुप्रवेश अनुगमन र श्रम दर्ता समितिको बारेमा बताउॅंदै यसको उचित कार्यान्वयनले सिक्किमका जनतालाई नै फाइदा पुग्ने बताए।
उनले जनप्रतिनिधि र प्रशासनिक अधिकारीहरूबीच उचित समन्वय आवश्यक रहेको बताउॅंदै पारदर्शिता र दक्षतामा जोड दिए। सांसद सुब्बाले दिशा बैठकहरूले योजनाहरूको व्याख्या गर्नुको सट्टा ब्लक-स्तरमा चलिरहेका कार्यक्रमहरू र योजनाहरूको प्रतिवेदन प्रस्तुत गर्नमा केन्द्रित हुनुपर्ने सुझाउ दिए।

Leave a comment