
मंगन, २४ सेप्टेम्बर। आगामी पर्यटन मौसलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसका पुलिस अधीक्षक रिन्जिङ छोपेल राईले चुङथाङका पुलिस एसडीपीओ चन्दन छेत्रीको साथमा लाचुङ पुलिस थाना र जाँच चौकी, युमेसामदोङ पुलिस चौकी र जिरो प्वाइन्टको स्थलगत भ्रमण गरी तयारी तथा यातायात प्रबन्धनको अवस्थाको मूल्याङ्कन गरेका छन्।
भ्रमणका क्रममा प्रतिबन्धित क्षेत्र प्रवेश अनुमति तथा संरक्षित क्षेत्र प्रवेश अनुमति पत्रको कडाइका साथ जाँच, निर्धारित पर्यटक सवारीसाधनको समयतालिकाको पालना, विभिन्न निकायबीच समन्वय तथा स्पष्ट आपत्कालीन सञ्चार कार्यविधिमा विशेष जोड दिइएको थियो।
टोलीले लाचुङस्थित ११५ ग्रेफका अधिकारी अतुल भारद्वाजसँग समन्वय बैठक पनि गरेको थियो। बैठकमा विशेषगरी जोखिमयुक्त तथा अत्यधिक भीडभाड हुने सडकखण्डमा यात्रु तथा पर्यटकहरूको सुरक्षालाई लिएर छलफल गरियो। भीड कम गर्न जिरो प्वाइन्ट, लाचुङमा सुरक्षा संकेत तथा परावर्तक जडान गर्ने र पार्किङ क्षेत्र विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।
यसअघि मंगनका पुलिस अधीक्षकले चुङथाङस्थित ११औँ भारत तिब्बत सीमा पुलिसका कमान्डिङ अफिसर देबनाथ राईसँग भेट गरी आपतकालीन अवस्थाका बेला विभिन्न निकायबीचको समन्वय थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।
यो स्थलगत भ्रमण मंगन जिल्लाका लागि तयार गरिएको यातायात तथा आवागमन उत्थानशीलता रणनीतिको एक हिस्सा रहेको बताइएको छ। यसको उद्देश्य स्थलगत चुनौतीहरूको मूल्याङ्कन गर्नुका साथै आगामी पर्यटन सिजनका लागि जनशक्ति परिचालन तथा यातायात प्रबन्धनका उपायहरूलाई अन्तिम रूप दिनु रहेको छ।
पर्यटन मौसमका क्रममा सुरक्षित तथा सहज आवागमन, विभिन्न निकायबीच सुदृढ समन्वय र प्रभावकारी आपतकालीन तयारी सुनिश्चित गर्न मंगन जिल्ला पुलिस प्रतिबद्ध रहेको जनाएको छ।


