अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घले आज आफ्नो 30औं स्थापना दिवस भव्यरूपमा पालन गऱ्यो। गेजिङ जिल्ला अन्तर्गत क्योङ्सा खेल मैदानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी कृष्ण राई, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकहरू, लोकसभा सांसद, वरिष्ठ अधिकारीहरू, विभिन्न जात गोष्ठीका प्रतिनिधिहरू लगायत सिक्किमभरिबाट आएका खस समुदायका सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो।
मुख्यमन्त्री तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेको आरोप लगाए। उनले एसकेएम पार्टीको सरकार गठन भएयता सिक्किममा खस समुदायका साथै सबै जातिहरू एक हुने प्रकिया शुरू भएको दाबी गरेका छन्।
उनले प्रत्येक सिक्किमेली जनताले स्वतन्त्र रूपले बाँच्न पाउनुपर्छ भन्दै सिक्कमेली समुदायको मेरुदण्ड खस समुदायले आफ्नो स्थापना दिवस 30 वर्षपछि स्वतन्त्र रूपले पालन गर्नु पाएको बताए। उनले खस समुदायको एकतालाई तोडेर टुक्राउन चाहने शक्तिहरू छन् भन्दै खस समुदाय कसैगरी टुक्रिनु हुँदैन भनी आह्वान गरे।
वर्तमान सरकारले खस समुदायलाई विशेष महत्व दिएको उल्लेख गर्दै मुख्यमन्त्रीले 25 वर्षसम्म खस समुदायले माथि उठ्ने मौका नपाएको बताए। यसै क्रममा मुख्यमन्त्रीले खस समुदायलाई मान सम्मान प्रदान गर्दै प्रत्येक वर्ष 26 फरवरीलाई सरकारी विदा दिइने घोषणा गरे।
अर्कोतिर, मुख्यमन्त्री तामाङले सामसन तामाङ प्रकरण र सिक्किम-दार्जिलिङ एकीकरणको हल्ला विपक्षीहरूको उपज रहेको बताएका छन्। उनले यसलाई सिक्किमे समाज एकजुट बनेको र 12 जात गोष्ठीले जनजातिको मान्यता पाएको देख्न नचाहनेहरूको ठूलो षड़यन्त्र ठहर गरेका छन्।
कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्रीले कसैको नाम नलिई विपक्षीहरू छुटेका 12 जातिले जनजातिको मान्यता पाएको हेर्न चाहॅंदैनन्, किनकि जनजातिको मान्यता पायो भने उनीहरूको राजनीति पनि समाप्त भएर जानेछ भने।
उनले गत 10 फरवरीका दिन दिल्लीमा आयोजित बैठकलाई लिएर विपक्षीहरूले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाए। मुख्यमन्त्रीले कुनै पनि स्थितिमा सिक्किम र दार्जिलिङको विलय हुॅंदैन भन्दै सिक्किमलाई भारतीय संविधानको धारा 371एफ ले सुरक्षित गरेको बताए। उनले 10 फरवरीमा दिल्लीमा बैठक सफलतापूर्वक सम्पन्न भएपछि विपक्षीहरूको मुद्दा पनि समाप्त भएको बताए।
अर्कोतिर, सिक्किमका खस समुदाय एकजुट बनेर सङ्घको स्थापना दिवस मनाउने कुरा गरेपछि फेरि षडयन्त्रकारीहरू आतिएको मुख्यमन्त्रीले बताए। यसपछि, विपक्षीहरूले खस समुदायको स्थापना दिवसलाई फ्लप बनाउने सामसन तामाङको भिडियो भाइरल गरेको आरोप लगाए, जसमा खस समुदाय विरुद्ध आपत्तिजनक टिप्पणी गरिएको थियो।
मुख्यमन्त्रीले सिक्किमको पुलिसको अथक प्रयासपछि सामसन तामाङलाई पक्राउ गरेर 21 फरवरीका दिन सिक्किम ल्याइएको र अहिले चलिरहेको सोधपुछमा आरोपी तामाङ धेरैको नाम खुलासा गरेको जानकारी गराए। उनले सामसन तामाङलाई थप पॉंच दिनको पुलिस रिमाण्डमा लिइने बताउॅंदै अब 21 फरवरीभन्दा ठूलो विस्फोट हुनेछ भनी बताए।