गान्तोक, 08 मार्च। रानीपुल नजिक सरम्सा उद्यानमा आज राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको आयोजना राज्य योजना तथा विकास विभाग अन्तर्गत सिक्किम इन्स्पायरको तत्वावधानमा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपाल माथुरले जहाँ नारीहरूको पूजा हुन्छ त्यहाँ देवताहरूको वास हुन्छ भन्दै अन्तरराष्ट्रिय महिला दिवसले हामीलाई महिलाहरूको सम्मान गर्ने अवसर प्राप्त हुने बताए। उनले नारी धैर्य, तपस्या, शिक्षा तथा समर्पणको प्रतिमुर्ति रहेको बताए।
राज्यपालले स्वाधीनता आन्दोलनमा महिलाहरूको भुमिकाको उल्लेख गर्दै भारतीय नारीहरूले गरेका अनेकौं उल्लेखनीय उपलब्धिहरूमाथि प्रकाश पारे। उनले देशमा महिलाहरूको भुमिका तीव्र गतिमा अघि बढेको जनाउँदै खेल लगायत विविध क्षेत्रमा नारीहरूले उल्लेखनीय उपलब्धि हासिल गरेर देश तथा राज्यको नाम रोशन गरिरहेको बताए।
दोस्रो चरणको कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्रीले प्रेमसिंह तामाङले सिक्किम सरकार महिलाहरूको हितमा कुनै पनि काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। उनले राज्य सरकार महिलाहरूको हितमा कुनै पनि काम गर्न तयार रहेको, तर महिलाहरूले पनि आफ्नो सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए।
उनले नारी र आमाहरूलाई उच्च प्राथमिकतामा राखेर एसकेएम सरकारले धेरै योजनाहरू शुरू गरेको बताए। सरकारले प्रत्येक वर्ष महिलाहरूलाई 40 हजार रूपियॉं प्रदान गरिरहेको, वर्षमा चारवटा ग्यास सिलिन्डर नि:शुल्क प्रदान गरिरहेको र 10 करोड रूपियॉंसम्मको टेन्डरमा टीडीआर काट्नु नपर्ने व्यवस्था गरेको उनले जानकारी गराए।
यस अतिरिक्त, विधवा महिलाहरूलाई प्रदान गरिने भत्ताको निम्ति योग्य उमेर घटाएर 21 वर्ष बनाएको पनि उनले बताए। यसै क्रममा उनले आगामी दिनमा कार्यक्रम आयोजना गरेर सिङ्गल मदरहरूलाई सरकारको तर्फबाट सहयोग प्रदान गर्ने जानकारी गराए। यस अतिरिक्त, पञ्चायत, शहरी निकाय र रोजगारमा पनि महिलाहरूलाई आरक्षण प्रदान गरिएको उनले बताए।
मुख्यमन्त्रीले महिलाहरूलाई उपलब्ध गराइएका यी सुविधा र अवसरहरूबाट फाइदा उठाउन सक्नुपर्छ भन्दै महिलाहरूको सक्रिय सहभागिताको निम्ति आह्वान गरे। उनले महिलाहरूको एकताको वकालत गर्दै महिलाहरू एक बनेको खण्डमा जुनै पनि काम गर्न सक्ने सुझाउ दिए।
कार्यक्रममा विभिन्न नारी हस्ताक्षरहरूलाई अभिनन्दन जनाइयो, जसमा पहिलो महिला विधानसभा अध्यक्षा कलावती सुब्बा, पहिलो क्याबिनेट मन्त्री रिञ्जिङ ओङ्मु भोटिया र प्रथम महिला मुख्य सचिव रिन्छेन ओङ्मु रहेका छन्। यसैगरी, समाज कल्याण विभागद्वारा विभिन्न महिलाहरूलाई पनि सम्मान जनाइएको थियो।
कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, समारोह आयोजक समितिकी अध्यक्षा राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ लगायत छवटै जिल्लाबाट आएका नारी प्रतिनिधिहरू र अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

Leave a comment