गान्तोक, 23 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले जम्मू-कश्मीरको पहलगाममा भएको क्रूर आतङ्कवादी हमलाको घटनाले आफूलाई स्तब्ध अनि दु:खी बनाएको बताउॅंदै यस्ता जघन्य कार्यहरूको स्पष्ट रूपमा निन्दा गरिनु पर्छ भनी बताएका छन्।
मुख्यमन्त्री तामाङ आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखेका छन्, ‘जम्मू-कश्मीरको पहलगाममा भएको क्रूर आतङ्कवादी हमलाबाट म गहिरो स्तब्ध र दुःखी छु, जसले निर्दोषहरूको ज्यान लियो र धेरैलाई घाइते बनायो। यस्ता जघन्य कार्यहरूको स्पष्ट रूपमा निन्दा गरिनुपर्छ।’
मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेका छन्। यस दु:खद समयमा हामी उनीहरूसँग ऐक्यबद्धतामा उभिएका छौं भन्दै उनले दिवंगत आत्माहरूको अनन्त शान्तिको लागि प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले यस्तो असहनीय त्रासदीको क्षणमा शान्ति, एकता र लचिलोपन कायम राख्न सबैलाई एकजुट बन्न आह्वान पनि गरेका छन्।
उल्लेखनीय छ, जम्मू-कश्मीरको प्रसिद्ध पर्यटक गन्तव्य पहलगाममा हिजो आतङ्कवादीहरूले पर्यटकहरूलाई निशाना बनाए। यस आतङ्की हमलामा 26 जनाको ज्यान गएको छ।

Leave a comment