गान्तोक, 24 अप्रेल। छ दिवसीय मिलिट्री-सिविल फ्युजन कन्वर्जेन्स क्याप्सुल 2025 को समापन भएको छ। राजधानीको चिन्तन भवनमा आज आयोजित समापन समारोहमा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। कार्यक्रममा मन्त्री जीटी ढुङ्गेल, मन्त्री एनबी दाहाल, भारतीय सेना र सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधनमा पहलगाममा भएको आतङ्कवादी हमलाको कडा निन्दा गरे तथा सिक्किमका जनता र सरकारको तर्फबाट शहीद परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरे। उनले सिक्किम जस्तो संवेदनशील सीमावर्ती राज्यमा मिलिट्री-सिविल फ्युजन क्याप्सुलले राष्ट्रिय सुरक्षा र सामाजिक-आर्थिक विकासमा महत्त्वपूर्ण भूमिकालाई प्रतिबिम्बित गर्न एक बहुमूल्य मञ्च प्रदान गरेको बताए। उनले प्राकृतिक प्रकोपको समयमा होस् वा शान्ति कायम राख्न भारतीय सेनाको निरन्तर सहयोगलाई स्वीकार गर्दै उनीहरूको अटल सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्रीले भारतीय सेना र राज्य सरकारबीचको समन्वयले सडक, सञ्चार सञ्जाल र आवश्यक पूर्वाधारको विकासमा सहजीकरण गरेको बताउॅंदै यसले नागरिक र सशस्त्र बल दुवैलाई फाइदा पुर्याएको बताए। उनले सडक र डिजिटल कनेक्टिभिटी जस्ता भविष्यका पूर्वाधार परियोजनाहरू सीमा सडक संगठन जस्ता संस्थाहरूसँग नजिकको समन्वयमा अगाडि बढ्ने कुरामा जोड दिए।
मुख्यमन्त्रीले सिक्किमका पूर्व सैनिकहरूले आफ्नो अनुशासन, सीप र अनुभवका साथ राज्यको विकासको लागि महत्वपूर्ण मानव संसाधनको प्रतिनिधित्व गर्दछ भन्दै पर्यटन, आपदा प्रबन्धन, कृषि विस्तार र प्रशिक्षण जस्ता क्षेत्रहरूमा पूर्व सैनिकहरूलाई एकीकृत गर्न नयाँ पहलहरू शुरु गरिएको बताए। उनले पूर्व सैनिकहरूको उद्यमशीलता र प्रशासनिक योगदानलाई समर्थन गर्न पूर्व सैनिक सहकारी र सीप केन्द्रहरूको स्थापना पनि भइरहेको बताए।
मुख्यमन्त्रीले अग्निवीर भेटरन्सका लागि सिक्किम पुलिसको कन्स्टेबल पदमा 20 प्रतिशत आरक्षण प्रदान गर्ने प्रगतिशील नीति घोषणा गरे। यसका साथै, सशस्त्र बलमा कम्तिमा छ महिना सेवा गरेका पूर्व सैनिकहरूका लागि 40 वर्षको मानक माथिल्लो उमेर सीमामा 10 वर्षको छुट दिइने व्यवस्था गरिएको बताए, जसले गर्दा उनीहरू 50 वर्षको उमेरसम्म यी पदहरूमा आवेदन दिन सक्षम हुनेछन्। यस अतिरिक्त, सेवापछिको जीविकोपार्जनलाई थप सहयोग गर्न राज्यले पूर्व सैनिकहरूका लागि दोकान आवण्टन पनि शुरु गर्ने उनले घोषणा गरे।

Leave a comment