पाकिम, 19 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार माइनिङ एसआईसीए क्रिकेट खेलमैदानमा जडान गरिएको फ्लडलाइटको उद्घाटन गरे। क्रिकेट खेलमैदानमा नयॉं सुविधाको उद्घाटनपछि एसआईसीए अध्यक्ष एकादश र सीएस एकादशबीच एक मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न भयो।
एसआईसीए अध्यक्ष एकादशले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए। सीएस एकादशले निर्धारित ओभरमा 9 विकेट गुमाएर कुल 121 रन बनाए। अर्कोतिर, एसआईसीए अध्यक्ष एकादशले 19.4 ओभरमा 5 विकेट गुमाएर लक्ष्य हासिल गर्दै म्याच आफ्नो नाम गऱ्यो।

यस अवसरमा एसआईसीए अध्यक्ष टिका सुब्बालाई राज्यमा क्रिकेट खेलको विकास र संवर्धनमा महत्वपूर्ण योगदानको निम्ति सम्मानित गरियो। म्याच अवधि भोइस अफ् नेपालकी फाइनलिस्ट अर्पणा आचार्यले आफ्नो साङ्गीतिक प्रस्तुति दिएकी थिइन्।
कार्यक्रममा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वजीत सोमाद्दर, विधानसभा अध्यक्ष र उपाध्यक्ष, क्याबिनेट मन्त्रीहरू, विधायकगण, मुख्य सचिव, विभिन्न विभागका प्रमुखहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
