गान्तोक, 21 मई। सिक्किमका एक प्रसिद्ध लेखक, नाटककार, गीतकार, अनुवादक एवम् सङ्गीतकार मन्दीप लामालाई ‘चिया कविता पुरस्कार 2025’ ले पुरस्कृत गरिएको छ। चिया कविता सिक्किमले आज विश्व चिया दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच मन्दीप लामालाई उक्त पुरस्कारले पुरस्कृत गऱ्यो। पुरस्कार स्वरूप लामालाई अतिथिहरूको बाहुलीद्वारा अंगवस्त्र, स्मृतिचिन्ह, तामापत्र र नगद पन्ध्र हजार रूपियॉं अर्पण गरियो।
सन् 1970 र 80-को दशकमा मन्दीप लामाले सिक्किममा नाट्य एवम् सङ्गीतको क्षेत्रमा अमूल्य योगदान दिएका छन्। सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिक तक्निकीसित जोड्ने नाटककार लामा हुन् जसले प्रसिद्ध नाटक रक्तिम रातको रचना गरेका थिए। सिक्किम क्रिएटीभ आर्ट्स एन्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)-का महासचिव रहेका लामाले ‘गीत अनि गीताङ्गे’-को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले नाट्कसँगै चलचित्र जगतमा पनि योगदान दिएका थिए। लामाले “अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एन्ड अदर एसेस”-नामक पुस्तक लेखेका छन् भने धेरै पुस्तकहरूको अनुवाद पनि गरेका छन्।
पुरस्कृत व्यक्तित्व लामाले आफ्नो सम्बोधनमा प्रसिद्ध नाटक ‘रक्तिम रात’ मञ्चन सम्बन्धित सम्झानाहरू साझा गरे। कार्यक्रमको आयोजना राजधानीको जीवन थिङ मार्गस्थित रचना बुक्समा गरिएको थियो। कार्यक्रममा सिक्किम, दार्जिलिङ, कालेबुङ लगायत नेपाल र भूटानबाट पनि साहित्यकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सिक्किम, दार्जिलिङ, कालेबुङ, नेपाल र भूटानका कविहरूले आफ्ना रचनाहरू सुनाएका थिए। पर्यवेक्षकका रूपमा उपस्थित सिक्किम विश्वविद्यालयका सहायक प्राद्यापक डा. बलराम अधिकारीले कार्यक्रमको अन्त्यमा आफ्नो पर्यवेक्षीय सम्बोधन राखे। चिया कविता सिक्किमको तर्फबाट सबै अतिथि कविहरूलाई स्मृतिचिन्ह प्रदान गरेर सम्मान जनायो।

Leave a comment