
गान्तोक, ११ सेप्टेम्बर:
सिक्किम अकादेमीले प्रख्यात साहित्यकार तथा सांस्कृतिक व्यक्तित्व दिवङ्गत पदमसिंह सुब्बा अपतनको जन्मजयन्तीको अवसरमा ९औँ पदमसिंह अपतन स्मृति व्याख्यान–२०२५ बुधबार गान्तोकस्थित मनन केन्द्रको मिनी थिएटरमा आयोजना गर्यो।
यस वर्षको व्याख्यान “शब्दपारको ज्ञान : साहित्य, दर्शन र जीवन” विषयमा केन्द्रित थियो। उक्त व्याख्यान सिक्किम विश्वविद्यालयका व्यावसायिक अध्ययन संकायकी डीन तथा विभागाध्यक्ष एवम् एनईपी २०२० समितिकी अध्यक्ष प्रा. युडिडा भोटियाले प्रस्तुत गरिन्। उहाँले साहित्य, दर्शन र जीवनकलाबीचको अन्तरनिहित सम्बन्धलाई प्रकाश पार्दै सिर्जनात्मक र बौद्धिक यात्रामार्फत ज्ञानको खोजी गर्न सहभागीहरूलाई प्रोत्साहित गरिन्। सो क्रममा प्रा. भोटियाले सुकरात र प्लेटोजस्ता ग्रीक दार्शनिकका विचारहरू तथा गीता लगायतका पूर्वीय दर्शनका गहन शिक्षाहरूको महत्वबारे समेत जानकारी दिइन्।
सिक्किम अकादेमीका अध्यक्ष एस.आर. सुब्बाले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्न तथा जीवनलाई सार्थक बनाउन निरन्तर प्रयत्नशील रहन आग्रह गरे। उनले अपतन सुब्बाको योगदानलाई स्मरण गर्दै हरेक वर्ष स्मृति व्याख्यानमार्फत नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने परम्परा अघि बढाइरहेको बताए। सो अवसरमा डा. दिना सुब्बाले वक्ताको परिचय प्रस्तुत गरे भने कार्यक्रमको सञ्चालन पूर्ण योञ्जनले गरे।

सांस्कृतिक कार्यक्रमअन्तर्गत सङ्गिनी नृत्य तथा नेपाली लोक नृत्य प्रस्तुत गरियो। तपश्री डान्स एकाडेमीकी निर्देशक कोमल गुरुङलाई सिक्किम राज्यत्वको स्वर्ण जयन्तीको अवसरमा प्रस्तुत नृत्यमार्फत गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा नाम दर्ता गराउनुभएको उपलब्धिका लागि सम्मानित गरियो।
कार्यक्रमका प्रमुख अतिथि इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम (आइटीएस) का उपाध्यक्ष सी.पी. शर्माले पदमसिंह सुब्बा अपतनको साहित्यिक योगदानको प्रशंसा गर्दै उनको जीवन र कृतिबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिए। आफू पनि गाउँले पृष्ठभूमिबाट आएका कारण उनको व्यक्तित्वले विशेष प्रेरणा दिएको बताउँदै शर्माले पुराना परम्परा र लोकज्ञानप्रति युवापुस्ताको सरोकार आवश्यक भएको उल्लेख गरे। उनले भने, “हाम्रा पुर्खाहरू वैज्ञानिक थिए। गणित र विज्ञान औपचारिक रूपमा विकसित हुनुभन्दा पहिल्यै उनीहरूले अनुभव र अभ्यासका आधारमा विज्ञानसम्मत निर्माणहरू सम्पन्न गरेका थिए।” यसका पुष्टि स्वरूप उहाँले विभिन्न उदाहरणहरू प्रस्तुत गरे।
समारोहमा स्रोत वक्ता, प्रमुख अतिथि तथा सांस्कृतिक प्रस्तुति गर्ने कलाकारहरूलाई सम्मान प्रदान गरिएको थियो।
लेखक, शैक्षिक व्यक्तित्व, विद्यार्थी तथा साहित्यप्रेमीहरूको व्यापक सहभागितामा सम्पन्न यस कार्यक्रममा पदमसिंह सुब्बा अपतनको दीर्घकालीन साहित्यिक र सांस्कृतिक योगदानलाई स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।
