गान्तोक, 21 नोभेम्बर । विश्व मत्स्य दिवसको अवसरमा सिलगढ़ीमा आज र भोलि ‘सिक्किम माछा महोत्सव 2025’ आयोजना भइरहेको छ। यस महोत्सवको आयोजन सिक्किम सरकारको मत्स्यपालन विभागले गरिरहेको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले सफल ‘सिक्किम माछा महोत्सव 2025’ आयोजनको लागि शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा सिक्किम राज्य बाहिर राज्यको माछा र मत्स्य उत्पादहरू प्रवर्द्धन गर्नुका साथै मत्स्य कृषकहरूलाई नयॉं अवसरहरू प्रदान गर्न मत्स्यपालन विभागले गरेको पहलको सराहना गरेका छन्।
यस्ता पहलहरूले आत्मनिर्भरता, ग्रामीण जीविकोपार्जनलाई सुदृढ़ बनाउनका साथै युवाहरूलाई जलीय कृषि र सम्बद्ध क्षेत्रहरूमा प्रेरित गर्छन् भनी उनले उल्लेख गरेका छन्। मुख्यमन्त्रीले यो महोत्सव सफल बन्ने तथा यसले सफा र दिगो माछा उत्पादनको स्रोतको रूपमा सिक्किमको पहिचानलाई अझ बढ़ाउने विश्वास व्यक्त गरेका छन्।
Leave a comment


