गान्तोक, 09 मार्च । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आठौं केन्द्रिय कार्यकारिणी समितिको सभा आज पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा जनताको पक्षमा पार्टीलाई अझ सशक्त बनाउने उद्देश्यले भावी रणनीतिहरूबारे केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरूले सक्रिय रूपमा बहस तथा छलफलमा सहभागिता जनाएको बताइएको छ।
सभालाई सम्बोधन गर्दै सीएपी सिक्किम अध्यक्ष राईले गलत राजनीतिका कारण सिक्किमले आजसम्म धेरै समस्या भोग्नुपरिरहेको बताए। संविधानले दिएको अधिकारको संरक्षण गर्दै नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यका साथ पार्टीको स्थापना गरिएको उनले बताए।
उनले पार्टी केवल चुनाउ जित्नका लागि मात्र नभई भ्रष्टाचारमुक्त र भयमुक्त सिक्किमेली समाज निर्माण गर्ने उद्देश्यले अघि बढिरहेको पनि स्पष्ट पारे। उनले जनताको हकहितका लागि गणेश राई लगायत सीएपी सिक्किमलाई रोक्ने वा छेक्ने हैसियत अहिलेसम्म कुनै शक्तिसँग नरहेको बताए। उनले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको पनि दाबी गरे।
Leave a comment


