गान्तोक, 27 जून ।राष्ट्रव्यापी ‘नशा मुक्त भारत अभियान’ तथा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तरराष्ट्रिय दिवसको अवसरमा गान्तोक जिल्ला प्रशासन केन्द्रले समाज कल्याण विभाग तथा ‘स्टार्स अफ होप’ सँगको सहकार्यमा २५ र २६ जून, २०२६ मा दुईदिने जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। कार्यक्रमको उद्देश्य लागुऔषधमुक्त समाज निर्माण गर्नुका साथै बालिका सशक्तीकरण, शिक्षा तथा सामुदायिक जिम्मेवारीबारे जनचेतना अभिवृद्धि गर्नु थियो।नशा मुक्त भारत अभियान अन्तर्गत पहिलो दिन पीएम श्री सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालय, देवरालीमा कार्यक्रम आयोजना गरियो। कार्यक्रममा गान्तोककी समाज कल्याण अधिकृत मनिकला गुरुङले ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानअन्तर्गत शिक्षामार्फत बालिकाहरूलाई सशक्त बनाउनु अत्यन्त आवश्यक रहेको बताइन्। उनले विद्यार्थीहरूलाई सही निर्णय गर्ने, लागुऔषधको दुरुपयोगबाट टाढा रहने तथा स्वस्थ र प्रगतिशील समाज निर्माणमा जिम्मेवार नागरिकको रूपमा योगदान पुर्याउन प्रेरित गरिन्। कार्यक्रमकी स्रोत व्यक्ति अधिवक्ता हेमलता शर्माले लागुऔषध दुरुपयोगका शारीरिक, मानसिक, सामाजिक तथा कानुनी असरबारे विस्तृत जानकारी दिइन्। उनले नार्कोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्स्टान्सेस ऐन, १९८५ अन्तर्गत लागू हुने कानुनी प्रावधानबारे जानकारी दिँदै लागुऔषधको उत्पादका स्वामित्व, बिक्री, खरिद, ओसारपसार तथा सेवनसम्बन्धी कडा कानुनी व्यवस्था रहेको बताइन्। उनले अवैध लागुऔषध सम्बन्धी अपराधमा कडा सजायको व्यवस्था भए पनि लतमा परेकाहरूका लागि पुनर्वास तथा उपचारको व्यवस्था रहेको उल्लेख गरिन्।जनचेतना अभियानअन्तर्गत एमजी मार्गस्थित स्टार मल नजिक ‘स्टार्स अफ होप’ का युवा स्वयंसेवकहरूले सडक नाटक प्रस्तुत गरेका थिए। दोस्रो दिनको कार्यक्रम जिल्ला प्रशासन केन्द्र, गान्तोकमा आयोजना गरियो, जहाँ अतिरिक्त जिल्लापाल सिससिसुमवाङ्चुक भोटियाले लागुऔषध दुरुपयोगले व्यक्ति, परिवार, करियर तथा समाजमा पार्ने गम्भीर असरबारे विस्तृत रूपमा चर्चा गरे। उनले लागुऔषधको लतले शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र नभई पारिवारिक मूल्य, शैक्षिक आकांक्षा, रोजगारीका अवसर तथा सामाजिक सद्भावमा समेत प्रतिकूल असर पार्ने बताए। उनले लागुऔषधको लतमा परेका व्यक्तिलाई हेय दृष्टिले नहेरी उनीहरूलाई सहानुभूति, सहयोग, परामर्श तथा पुनःस्थापनाको अवसर प्रदान गरी सम्मानपूर्वक समाजमा पुनःस्थापित गर्न सबैलाई आग्रह गरे।कार्यक्रमलाई सम्बोधन गर्दै समाज कल्याण अधिकृत मनिकला गुरुङले बालिका तथा महिलाको सुरक्षा र कल्याण सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी रहेको बताइन्। उनले महिला हेल्पलाइन १८१ तथा बाल हेल्पलाइन १०९८ बारे जानकारी गराउँदै आवश्यकता पर्दा यी सेवाहरूको उपयोग गर्न सहभागीहरूलाई आग्रह गरिन्। साथै, बालिका तथा महिलाका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण निर्माण गर्नु उनीहरूको सशक्तीकरणका लागि अत्यावश्यक रहेको उल्लेख गरिन्।कार्यक्रमको समापनमा ‘स्टार्स अफ होप’ का युवा सदस्यहरूले ‘नशा मुक्त भारत’ तथा बालिका शिक्षा विषयमा आधारित सन्देशमूलक सडक नाटक प्रस्तुत गरेका थिए।


