गान्तोक, २६ नोभेम्बर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज गान्तोकस्थित पार्टीको सिटी कार्यालयमा संविधान गौरव दिवस पालन गर्दै संवैधानिक मूल्य, सिक्किमको विशेष पहिचान तथा राज्यवासीका वैधानिक अधिकारहरूको संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।राज्य भाजपा उपाध्यक्ष एवं ओबीसी मोर्चाका राष्ट्रिय कार्यकारिणी सदस्य गिरिश चन्द्र राई, राज्य महासचिव दिनेश चन्द्र नेपाललगायत पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।कार्यक्रममा गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चाले स्वागत मन्तव्य राखेका थिए। यस अवसरमा २६ नोभेम्बर, २००८ को मुम्बई आतङ्कवादी हमलाका पीडितहरूको स्मृतिमा तथा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी दिवङ्गत माता धनमाया तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौनधारण गरियो।मुख्य वक्ताका रूपमा राज्य प्रवक्ता पासाङ ग्याली शेर्पाले भारतीय संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै भारत रत्न डा. बीआर अम्बेडकर तथा संविधानसभाका सदस्यहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले संविधानमा सुनिश्चित नागरिकका मौलिक अधिकार तथा कर्तव्यबारे चर्चा गर्दै १९७५ मा सिक्किम भारतीय सङ्घमा विलय भएपछि राज्यको विशिष्ट पहिचान र संवैधानिक हैसियतको संरक्षण गर्ने धारा ३७१एफको महत्त्वमाथि विशेष जोड दिए।उनले लिम्बू-तामाङ समुदायका लागि विधानसभा आसन आरक्षण, छुटेका समुदायलाई अनुसूचित जनजातिको मान्यता प्रदान गर्नेलगायत सिक्किमका अन्य महत्त्वपूर्ण संवैधानिक तथा प्रतिनिधित्वसम्बन्धी मागहरू पनि उठाए। उनले यी जायज मागहरूलाई अघि बढाउन भाजपा प्रतिबद्ध रहेको बताए।कार्यक्रम सञ्चालन गर्दै राज्य सचिव निरेन भण्डारीले सार्वजनिक तथा राजनीतिक जीवनमा संविधानको सान्दर्भिकताबारे प्रकाश पारे। उनले २००३ मा लिम्बू र तामाङ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिलाउन तथा १९९२ मा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गराउन भाजपाले खेलेको ऐतिहासिक भूमिकाबारे पनि उल्लेख गरे। साथै, विगतका काङ्ग्रेस सरकारहरूको कार्यकालमा संवैधानिक प्रावधानहरूको दुरुपयोग भएको विषयमा चिन्ता व्यक्त गरे।भाजपा सिक्किमले संविधानका मूल्यमान्यताको रक्षा, सिक्किमको विशेष पहिचानको संरक्षण तथा राज्यवासीका वैधानिक अधिकार र आकाङ्क्षाहरूको सम्बोधनका लागि निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेको छ।


