
गान्तोक, 27 नोभेम्बर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज जोरथाङस्थित सर्कल कार्यालयमा गेजिङ र सोरेङ जिल्लाका जिल्ला कार्यकारी परिषद्को संयुक्त बैठक सम्पन्न गरेको छ। बैठकमा पार्टीका शीर्ष नेतृत्व, जिल्ला पदाधिकारी, डीईसी सदस्य तथा विभिन्न विधानसभा निर्वाचन क्षेत्रका कार्यकारी परिषद्का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।बैठकमा दुवै जिल्लाको सङ्गठनात्मक प्रगतिको समीक्षा गर्दै सङ्गठन विस्तार, तल्लो तहमा जनसम्पर्क अभियानलाई सुदृढ़ बनाउने तथा संस्थागत संरचनालाई मजबुत पार्ने विषयमा छलफल गरियो। यसैगरी, पार्टीको आगामी स्थापना दिवस समारोहको तयारीबारे पनि विचारविमर्श भयो।बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश के. राईले वर्तमान एसकेएम सरकारले सिक्किमका जनतालाई दबाउमा राख्ने, त्रसित बनाउने तथा भ्रमित पार्ने प्रयास गरिरहेको आरोप लगाए। उनले जनताले भोगिरहेका कठिनाई, गुनासा तथा असहाय अवस्थाका बीच सिटिजन एक्सन पार्टीप्रति आशा राख्न थालेको बताए।सिक्किमको इतिहास, पहिचान र विरासतको चर्चा गर्दै उनले पुर्खाहरूको त्याग र बलिदानलाई सम्मान गर्न तथा राज्यको विशिष्ट पहिचानको संरक्षणमा इमानदारीपूर्वक प्रतिबद्ध रहन पार्टीका सदस्यहरूलाई आह्वान गरे। उनले पार्टी सङ्गठनलाई सिक्किमका प्रत्येक गाउँ र घरपरिवारसम्म पुर्याउने आफ्नो दृष्टिकोण पनि प्रस्तुत गरे।उनले सङ्गठन विस्तारका लागि व्यवस्थित प्रशासनिक संयन्त्र, बलियो तल्लो तहको संरचना तथा योजना, समन्वय र कार्यक्रम कार्यान्वयनमा वैज्ञानिक पद्धति अपनाउनुपर्नेमा जोड दिए। साथै, आम नागरिकका समस्या र सङ्घर्षलाई बुझ्न पार्टी कार्यकर्ताहरूले जनताको स्थानमा आफूलाई राखेर सोच्नुपर्ने बताउँदै अर्थपूर्ण जनसेवाका लागि सहानुभूति, इमानदारी र जनजीवनको वास्तविक अवस्थाबारे बुझाइ आवश्यक रहेको उल्लेख गरे।यसैबीच, बैठकका अवसरमा सोरेङ जिल्लाका विभिन्न क्षेत्रका पाँचजना नयाँ सदस्य पार्टीमा सामेल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। कार्यक्रमलाई पार्टीकी प्रवक्ता एडु छिरिङ भोटिया, गेजिङ जिल्ला अध्यक्ष ओङदिला भोटिया र सोरेङ जिल्ला अध्यक्ष पीडी शेर्पाले पनि सम्बोधन गरेका थिए।


