गान्तोक, 05 अगस्त। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी १० अगस्तको दिन ९औँ जन उन्मुक्ति दिवसको अवसरमा आयोजना गरिने दोस्रो आमा सम्मान दिवस समारोहको तयारीका लागि आज रम्फू खेल मैदानमा तेस्रो समन्वय सभा सम्पन्न गर्यो। यो समारोह नाम्चीमा गरिने तय गरिएको भए पनि जनसुविधालाई ध्यानमा राखेर नाम्चीबाट सारेर रम्फू खेल मैदानमा आयोजन गरिने निर्णय गरिएको छ। पार्टीका उपाध्यक्ष एवम् मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवड़ाको नेतृत्वमा आज बसेको तेस्रो समन्वय सभाको अध्यक्षता पार्टीका उपाध्यक्ष तथा पश्चिम पाण्डाम समष्टि विधायक एलबी दासले गरेका थिए। बैठकमा पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेती लगायत मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका रजनीतिक सचिव, मुख्यमन्त्रीका सल्लाहकार, विभिन्न विभागका सल्लाहकारगण, अध्यक्षगण, केन्द्रिय तथा समष्टिस्तरीय कार्यकारिणी लगायत पार्टीका कार्यकर्ताको उपस्थिति रहेको थियो।समन्वय सभामा पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीले नाम्चीबाट कार्यक्रम स्थल सारेर रम्फू ल्याइएपछि समारोह समितिमा कतिपय फेरबदल गरिएको सम्बन्धमा जानकारी दिए। उनले बर्खायाम भएको र निरन्तर वर्षा भइरहेको कारण यातायातमा हुने असुविधालाई ध्यानमा राखेर सड़क मार्गलाई दुरुस्त राख्ने अनि व्यवस्थित गर्ने अभिभारा मन्त्री एनबी दाहाललाई प्रदान गरिएको जनाए। अन्य कामको बाँड़फाँड़मा पहिलाबाटै दिइएको जिम्मेवारी यथावत रहने जानकारी दिए। उप्रेतीले ९औँ जन उन्मुक्ति दिवसको अवसरमा आयोजन हुने दोस्रो आमा सम्मान दिवसलाई भव्य रुपमा सफल बनाउन पार्टीका भातृ सङ्गठनका सदस्य लगायत सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरू अघि आउन आह्वान गरे। सभालाई सम्बोधन गर्दै सभाध्यक्ष एलबी दासले १० अगस्तको कार्यक्रमलाई सफल पार्नका लागि सबैको जिम्मेवारी उत्तिकै रहने जनाए। सभालाई युवा प्रकोष्ठका उपाध्यक्ष प्रभारी सञ्जीत खरेल, नारीशक्ति प्रकोष्ठकी अध्यक्ष बीणा राईले पनि सम्बोधन गरेका थिए।


