सिलिगुड़ीः सिक्किमेली कवि प्रवीण राई जुमेलीलाई शशिप्रभा स्मृति पुरस्कारले पुरस्कृत गरिने भएको छ। जुमेलीको कविता संग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार प्रदान गर्ने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि एक उत्कृष्ट नेपाली पुस्तकलाई दिइने गरेको छ।
साहित्यिक पुरस्कार लबीमुक्त हुनुपर्ने र पारदर्शितापूर्वक कृतिको छनौट गरिनुपर्ने कुरामा जोर दिँदै सुरू गरिएको उक्त पुरस्कारको निम्ति प्रत्येक वर्ष शीर्ष दस पुस्तक पनि सार्वजनिक गरिने गरिएको छ।
पुरस्कारले पठन संस्कृतिको विकासमा पनि थप टेवा पुर्याउनुपर्ने र साहित्यिक पुरस्कार जहिले पाठक मैत्री हुनुपर्ने कुरामा जोर दिँदै किताब घरले उक्त साहित्यिक पुरस्कार सुरू गरेको हो। यसको निम्ति यसपल्ट लेखक संगीत नेम्वाङको अगुवाईमा रहेको टोलीले शीर्ष दश पुस्तक चयन गरेको थियो भने तीमध्ये मेडिटेसनः पीड़ा र प्रस्थानलाई शीर्ष ज्युरीहरू लेखक विन्ध्या सुब्बा, सुधीर छेत्री र बलराम सापकोटाले श्रेष्ठ पुस्तकको रूपमा चयन गरेको छ।
बिहीबार सालबारीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ लेखक ज्ञानेन्द्र खतिवाड़ा, किताब घरका संयोजक छेवाङ योञ्जन र बबिता मादेनले गरेका छन्। आख्यानकार विजय बान्तवा कैलाशीलद्वारा आफ्नो धर्मपत्नी शशिप्रभा राईको स्मृतिमा सुरू गरिएको उक्त पुरस्कारमा नगद पचास हजार रूपियाँसहित प्रशस्ति-पत्र प्रदान गरिने गरेको छ।