गान्तोक, 08 अप्रेल। पाकिम जिल्लाको एक स्कूलका गैर शिक्षण कर्मचारी र कम्प्यूटर शिक्षकले स्कूलकी 13 वर्षीय नाबालिग विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको मामिला प्रकाशमा आएको छ। विद्यार्थीले आफूमाथि भएको यौन दुर्व्यवहारको शिकायत विद्यालयकी एक महिला शिक्षकलाई गर्दा उक्त शिक्षकले विद्यार्थीलाई समर्थन गर्नुको सट्टामा उल्टै मामिलालाई ढाकछोप गरेको आरोप लागेको छ।
पुलिस रिपोर्ट अनुसार, नाबालिग विद्यार्थीको छातीमा केही दाग देखेपछि परिवारका सदस्यहरूले दाग लाग्नुको कारणबारे सोधपुछ गरे। जसपछि पीडित नाबालिगले आफ्नो विद्यालयका एक 23 वर्षीय गैर शिक्षण कर्मचारीले धेरै अवसरहरूमा आफूमाथि यौन दुर्व्यवहार गरेको खुलासा गरिन्।
यति मात्र नभएर, आरोपी व्यक्तिले नाबालिग विद्यार्थीलाई इन्स्टाग्राममा आफ्नो नग्न फोटो पठाउन म्यासेज गर्थे र फोटो नपठाए धम्की दिने गरेको उनले आरोप लगाएकी छिन्। आफूमाथि भइरहेको यौन दुर्व्यवहारको बारेमा विद्यालयकी एक महिला शिक्षकलाई जानकारी गराउॅंदा उक्त शिक्षकले यस घटनाको बारेमा अन्यहरू लगायत आफ्नो अभिभावकलाई समेत खुलासा गर्न रोक लगाएको नाबालिगले बताएकी छिन्।
नाबालिग विद्यार्थीले गैर शिक्षण कर्मचारी सरह विद्यालयका कम्प्यूटर शिक्षकले पनि आफूमाथि धेरै अवसरहरूमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। पीडित नाबालिगकी अभिभावकको शिकायतको आधारमा आरोपी गैर शिक्षक कर्मचारी र कम्प्यूटर शिक्षक विरुद्ध पोक्सो अधिनियम, 2012 अन्तर्गत मामिला दर्ता गरिएको छ। आरोपी व्यक्तिहरूलाई पक्राउ गरेर पुलिसले छानबिन शुरू गरेको छ।
अर्कोतिर, पुलिसले आरोपी महिला शिक्षक विरुद्ध बीएनएसएसको धारा 35(3) अन्तर्गत नोटिस जारी गरेर जॉंच अधिकारी समक्ष उपस्थित हुन निर्देश दिएको छ। यस मामिलाको सम्बन्धमा छानबिन जारी रहेको छ।

Leave a comment