गान्तोक, 12 फरवरी। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले मंगन जिल्ला अन्तर्गत जङ्गूमा नवनिर्मित साङ्कलाङ बेली ब्रिज भत्किएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ। दीर्घकालीन स्थायित्व र सुरक्षा सुनिश्चित गर्नुको सट्टा निर्माणमा भएको हतारले गर्दा ठूलो पूर्वाधार विफलता भएको बताउॅंदै यस अप्पर जङ्गू र सम्पूर्ण उत्तर सिक्किम क्षेत्रका बासिन्दाहरूलाई गम्भीर असर पार्ने सीएपीले विज्ञप्तिमा बताएको छ।
सीएपीले भनेको छ, पुल भत्किँदा स्थानीय यात्रु र अत्यावश्यक आपूर्तिहरूमा मात्र असर पर्दैन, तर यसले उत्तर सिक्किमको पर्यटन उद्योगमा पनि बाधा पुर्याकउनेछ। लाचुङ र लाचेन जाने सडकहरू पहिले नै क्षतिग्रस्त भएकाले सङ्कालङ पुलले साफो-शिपग्यार हुँदै चुङथाङ जाने महत्त्वपूर्ण वैकल्पिक मार्गको रूपमा काम गरिरहेको थियो। यो दुर्भाग्यपूर्ण घटनाले यस क्षेत्रलाई अझ अलग्गै पार्नेछ, जसले गर्दा बासिन्दाहरूलाई कठिनाइ हुनेछ र उत्तर सिक्किमको पर्यटनमा निर्भर अर्थतन्त्रमा ठूलो क्षति हुनेछ।
सीएपीले यस विपत्तिको लागि जिम्मेवार अधिकारीहरूबाट तत्काल जवाफदेहीताको माग गरेको छ। सीएपीले पुल निर्माण कार्यमा लापरवाही र सही योजनाको कमी भएको, सार्वजनिक कोष दुरुपयोग भएको आरोप लगाएको छ। सीएपीले सम्बन्धितहरू विरुद्ध तत्काल कडा कारबाहीको माग गरको छ।

Leave a comment