निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार 2026-द्वारा पुरस्कृत भएका छन्। आइतवार असमको बर्सोलामा आयोजित पुरस्कार अलङ्करण समारोहमा इन्द्रेनी प्रकाशन, असमले उनको निबन्ध सङ्ग्रह चिया गफ-का लागि यस गरिमामयी पुरस्कारले विभूषित गरेको हो। समारोहमा वरिष्ठ शिक्षावीद् तथा राष्ट्रपति पदक प्रापक साहित्यकार विद्यापति उपाध्याय मुख्य अतिथि थिए भने असमका विभिन्न जिल्लाबाट साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो। सिक्किमबाट नेपाली साहित्य परिषद् सिक्किमका महासचिव भीम राउत, लेखक टीबीचन्द्र सुब्बा, पत्रकार अम्बर गुरुङ र समाजसेवी डा. गगन रुचालको विशेष उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै साहित्यकार प्रवीण खालिङले भाषा सङ्ग्रामी तथा शिक्षावीद् एवम् साहित्यकार तारापति उपाध्यायको स्मृतिमा निबन्ध विधामाथि स्थापित राष्ट्रिय पुरस्कार प्राप्त गर्ने आफू पहिलो निबन्धकार हुन पाएकोमा आफू र सिक्किमले गर्व वोध गर्ने अवसर प्राप्त गरेको बताए।उनले पुरस्कार पाठकले दिएको धारणा व्यक्त गर्दै पाठककै निम्ति लेखिएका “चिया गफ” ले पाएको मायाको निम्ति असमलाई आभार प्रकट गरे। उनले असम र देशको अन्य राज्यहरू जहाँ नेपाली भाषाका पुस्तकहरू पठन पाठन हुन्छ त्यसमा समन्वय हुनुपर्ने बताए। यसैगरि उनले गुणस्तरीय साहित्य लेखनको पैरवी गर्दै साहित्य लेखनमा गुणस्तर विकासको सोच विकास हुनुपर्ने बताए। इन्द्रेनी प्रकाशनले थालेको पहलको सराहना गर्दै भविष्यमा साहित्य लेखनमा पुरस्कारले थप जिम्मेवारी प्रदान गरेको तथा साहित्य मार्फत नै असम र पूर्वोत्तर भारतका नेपालीभाषी जनजीवनसित जोडिरहने प्रतिबद्धता जाहेर गरे।
समारोहमा इन्द्रेनी प्रकाशनद्वारा प्रकाशित विभिन्न सर्जकका पुस्तकहरूको लोकार्पणसँगै निबन्ध लेखनमाथि परिचर्चा आयोजन गरिएको थियो। यसैगरी पर्यावरण साहित्यमाथि पनि विभिन्न स्रोत वक्ताहरूले वार्ता प्रस्तुत गर्नका साथै कविताहरू प्रस्तुत गरियो। यस अवसरमा वरिष्ठ साहित्यकार तथा इन्द्रेनी प्रकाशनका प्रमुख स्तम्भ रुद्र बराललाई भाइचन्द्र प्रधान स्मृति पुरस्कार प्राप्त गरेवापत् इन्द्रेनी परिवारद्वारा अभिनन्दन गरियो। इन्द्रेनी परिवारद्वारा निबन्ध विधामा यस वर्षदेखि पुरस्कारको थालनी गरिएकोमा कृतज्ञता प्रकट गर्दै तारापतिकी बुहारी तथा कवि श्रीमती डुलुमनि देवीले आफ्नो पक्षबाट भरपूर सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिन्। समारोहमा सिक्किमबाट अतिथिका रूपमा उपस्थित प्रतिनिधि टोलीका सदस्यहरूलाई पनि स्मृति चिन्हद्वारा सम्मानित गरियो। समारोहलाई साहित्यकार रूद्र बराल, नैना अधिकारी र ज्योति हुमागाईले सञ्चालन गरेका थिए।


