गेजिङ, 11 अगस्त। पर्यटन तथा नागरिक उड्डयनमन्त्री छिरिङ टी. भोटियाले मंगलबार पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत मानेबुङ-देन्ताम क्षेत्रमा पर्ने उत्तरेनजिकै निर्माणाधीन सिङ्शोर पुल ग्लास-डेक स्काइवाक परियोजनाको निरीक्षण गरेका छन्। उत्तर पूर्वीय क्षेत्र विकास मन्त्रालय (डोनर) को सहयोग तथा पीएम-डेभाइन योजनाअन्तर्गत यो पर्यटन पूर्वाधार परियोजना विकास भइरहेको छ।देन्ताम र उत्तरेबीच अवस्थित प्रसिद्ध सिङ्शोर पुललाई पारदर्शी ग्लास फ्लोरसहितको स्काइवाक तथा बन्जी जम्पिङ सुविधासहितको प्रमुख पर्यटकीय तथा साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने परियोजनाको उद्देश्य रहेको छ।सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागको निगरानीमा परियोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।निरीक्षणका क्रममा मन्त्री भोटियाले परियोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिँदै निर्धारित गुणस्तर मापदण्ड कायम राख्दै निर्माण कार्यलाई थप तीव्रता दिन कार्यान्वयन निकायलाई निर्देशन दिए। उनले परियोजना समयमै तथा गुणस्तरीय रूपमा सम्पन्न गर्न पर्यटन तथा नागरिक उड्डयन विभागबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासनसमेत दिए।सिङ्शोर पुललाई ग्लास-डेक स्काइवाकका रूपमा विकास गरिएपछि सिक्किमको पर्यटन पूर्वाधार थप सुदृढ़ हुनुका साथै राज्यमा साहसिक पर्यटनको सम्भावना विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


