गान्तोक, 12 जून। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नाम्ची जिल्लाका विभिन्न बाल हेरचाह संस्था तथा कल्याणकारी प्रतिष्ठानहरूको भ्रमण गर्दै बालबालिका, हेरचाहकर्ता तथा कर्मचारीहरूसँग अन्तरक्रिया गरे। साथै, उनीहरूको आवश्यकता तथा समग्र अवस्थाबारे जानकारी लिएका छन्।सांसद सुब्बाले भ्रमण नाम्ची जिल्लाको मेल्ली निर्वाचन क्षेत्रअन्तर्गत तुरुकस्थित तुरुक चिल्ड्रेन्स होम, नाम्चीको बुमटारस्थित जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्युट फर ह्यान्डिक्याप्ड र नाम्चीस्थित मायेल ल्याङ गर्ल्स चिल्ड्रेन्स होमको भ्रमण गरे। उनले भ्रमणका क्रममा संस्थाका बालबालिका, हेरचाहकर्ता तथा कर्मचारीहरूसँग संवाद गरे र त्यहाँका बालबालिकाहरूका चुनौती तथा आकांक्षाबारे जानकारी लिए। उनले हेरचाहकर्ताहरूको समर्पणको प्रशंसा गर्दै बालिकाहरूलाई आत्मविश्वासका साथ शिक्षा हासिल गर्न र आफ्ना लक्ष्यहरू प्राप्त गर्न प्रेरित गरे।सांसद सुब्बाले सांसदको स्थानीय क्षेत्र विकास योजनामार्फत आवश्यक सामग्रीहरू पनि उपलब्ध गराएका छन्। उनले जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्युट फर ह्यान्डिक्याप्ड, तुरुक चिल्ड्रेन्स होम र मायेल लायाङ गर्ल्स चिल्ड्रेन्स होमलाई इन्भर्टर, अल इन वन पीसी प्रणाली, वाटर प्युरिफायर, रेफ्रिजेरेटर, इन्डक्सन कुकटप, युपीएस प्रदान गरेका छन्।भ्रमणका क्रममा बोल्दै सांसद सुब्बाले सिक्किमभरिका बालबालिकाहरूका लागि अझ राम्रो सुविधा, गुणस्तरीय शैक्षिक अवसर तथा पोषणयुक्त वातावरण सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरे। उनले प्रत्येक बालबालिकाको समग्र विकास र कल्याणका लागि सरकारी निकायहरू, नागरिक समाज संस्थाहरू तथा स्थानीय समुदायहरूको संयुक्त प्रयास आवश्यक रहेको बताए।


