गान्तोक, 27 अप्रेल। जम्मू-कश्मीरको पहलगाममा हालैमा भएको आतङ्कवादी हमलाको विरोधमा सामूहिक निन्दा व्यक्त गर्दै आज गान्तोकको एमजी मार्गमा मैनबत्ती मार्च आयोजना गरियो। उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मुख्यमन्त्रीकी धर्म पत्नी कृष्ण राई, सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, मन्त्रीगण, विधायकगण, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, व्यापारीहरू र जनसाधारण सहभागी बने।
मुख्यमन्त्री तामाङको अगुवाईमा निकालिएको शान्तिपूर्ण मैनबत्ती मार्चले राजधानीको परिक्रमा गरेको थियो। मार्चमा सहभागी मानिसहरूले आतङ्कवादी हमलाको विरोधमा नारा लगाएका थिए। यस मार्चले सिक्किमका जनताको सामूहिक विवेकलाई प्रतिबिम्बित गर्दै समाजमा हिंसा र आतङ्कको कुनै स्थान छैन भन्ने बलियो र स्पष्ट सन्देश दिएको थियो।
मुख्यमन्त्री लगायत उपस्थित सबैले आतङ्कवादी हमलामा ज्यान गुमाएका निर्दोष मानिसहरूहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शान्ति, एकता र सद्भावप्रति प्रतिबद्धता प्रदर्शित गरे।

मुख्यमन्त्रीले शान्ति र प्रगतिलाई खतरामा पार्ने शक्तिहरू विरुद्ध एकताबद्ध रहन सबैलाई आग्रह गरे। उनले हाम्रा नागरिकहरू, विशेष गरी युवाहरूले देखाएको साहस र करुणाले राम्रो र सुरक्षित भविष्यको लागि हाम्रो आशालाई बलियो बनाएको छ भनी बताए।
मुख्यमन्त्रीले शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गरे र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले सिक्किमका जनताको तर्फबाट गहिरो सहानुभूति प्रकट गर्दै यस दुःखको घडीमा राष्ट्रप्रति आफ्नो समर्थनको प्रतिज्ञा व्यक्त गरे।
