गान्तोक, 06 मई। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आशिष राई र आनन्द राईमाथि भएको हमलाको खण्डन गर्दै भत्सर्ना जनाएको छ। प्रदेश भाजपाले पुलिस जवाफदेहिता आयोग समक्ष उक्त हमलाकाण्डलाई स्वत: संज्ञानमा लिएर आवश्यक कारबाही गर्न माग पनि गरेको छ।
भाजपा सिक्किमका प्रवक्ता पासाङ शेर्पाले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा हालैमा आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनाए। उनले एकातिर सिक्किमले आफ्नो स्थापनाको 50 वर्ष मनाइरहेको छ भने अर्कोतिर आतङ्क फैलाउने काम भइरहेको बताए। उनले राज्यमा देशका प्रधानमन्त्रीको सम्भावित भ्रमणबीच यसरी अराजकता बढिरहनु उचित नरहेको बताए। उनले सिक्किम पुलिस पनि राज्यमा आपराधिक गतिविधिहरू रोकथाम गर्न विफल बनिरहेको छ भने जनताले आफ्नो सुरक्षा आफू स्वयंले गर्नुपर्ने स्थिति रहेको बताए।
उनले राज्यका नागरिक समाजलाई पनि जागरुक बन्न आह्वान गर्दै आज आशिष र आनन्दले कुटाई खाए भने भोलि अरूहरूको पनि पालो आउन सक्ने बताए। उनले जहॉं अन्याय र अत्याचार हुन्छ त्यहॉं एक भएर बोल्नुपर्छ भनी आह्वान गरे।
प्रवक्ता शेर्पाले पुलिस जवाफदेहिता आयोगको उल्लेख गर्दै पुलिसले आफ्नो कर्तव्य निर्वाह नगरेको खण्डमा आयोगले पुलिसको जवाफदेहिता सुनिश्चित गर्न कारबाही गर्ने अधिकार रहेको जानकारी गराए। उनले दुईजना सेवानिवृत्त वरिष्ठ न्यायाधीशहरूको अगुवाईमा रहेको उक्त आयोग समक्ष यी हमलाकाण्डहरूलाई स्वत: संज्ञानमा लिएर आवश्यक कारबाही गरिदिन आग्रह गरे। उनले देशका प्रधानमन्त्रीको सम्भावित भ्रमणघि राज्यमा शान्ति कायम हुनु आवश्यक छ भन्दै अराजकता फैलिनु सिक्किम र पुलिसको निम्ति पनि सही नरहेको बताए।
यस अतिरिक्त, प्रवक्ता शेर्पाले राज्यमा ट्याक्सहरूको वृद्धिलाई लिएर पनि प्रतिक्रिया जनाए। उनले सिक्किम सबैभन्दा धेरै जल संसाधन र जल विद्युत परियोजना भएको राज्य भए तापनि यहॉं बीपीएल परिवारले मासिक चार हजार रूपियॉं बिजुली बिल तिर्नुपर्ने स्थिति रहेको बताए। पहिले बीपीएल परिवारले बिजुलीको बिल तिर्नु पर्दैन थियो भने अहिले नयॉं मिटर जडान गरिएपछि चार हजारसम्म बिल आइरहेको उनले दाबी गरे।
यसैगरी, उनले राज्यमा जल जीवन मिशनमा व्यापक भ्रष्टाचार भएको कुरा प्रदेश भाजपा टोलीले गरिरहेको सेवा एवं सम्पर्क अभियानको क्रममा थाहा पाएको बताए। उनले यस मिशनमा भएको भ्रष्टाचारको जॉंच गर्न केन्द्रमा विशेष निगरानी दलको निम्ति माग राखेको जानकारी गराए।
यसैगरी, उनले केन्द्रिय गृह मन्त्रालयको आदेश अनुरुप राज्यका छवटै जिल्लाका जिल्लापालहरूको ध्यान आकर्षित गर्दै राज्यमा पाकिस्तानी नागरिकहरू छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रशासनलाई आवश्यक कारबाही गरिदिन अनुरोध गरे।

Leave a comment