गान्तोक, 10 जून। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीस्थित न्यू सिक्किम हाउसको निरीक्षण गर्दै राष्ट्रिय राजधानीमा सिक्किमवासीहरूको सेवाका लागि प्रयोग हुँदै आएका प्रमुख सरकारी सम्पत्तिहरूको पुनर्विकास तथा नवीकरण योजनाको समीक्षा गरे।मुख्यमन्त्री कार्यालयका अनुसार, १९८८ सालमा निर्माण गरिएको न्यू सिक्किम हाउसले लगभग चार दशकदेखि राज्यको सेवा गर्दै आएको छ। वर्तमान आवश्यकतालाई ध्यानमा राख्दै यस भवनलाई स्तरोन्नति गर्न मुख्यमन्त्रीले थप आवासीय कोठाहरू, पर्याप्त पार्किङ सुविधा, आधुनिक सेवासुविधा तथा उन्नत पूर्वाधारसहितको व्यापक पुनर्विकास योजना प्रस्ताव गरेका छन्, जसपछि सिक्किमबाट नयाँ दिल्ली आउने आगन्तुकहरूलाई थप सहजता र सुविधा प्राप्त हुनेछ।निरीक्षणका क्रममा मुख्यमन्त्रीले ओल्ड सिक्किम हाउसको प्रस्तावित पुनर्स्थापना योजनाको पनि समीक्षा गरे। उनले भवनको ऐतिहासिक महत्व, वास्तुकलात्मक विशेषता तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै आधुनिक सुविधाहरूलाई सन्तुलित रूपमा समावेश गर्नुपर्नेमा जोड दिए।यसका साथै, सेवा भवन, एक्स-१३, हाउज खास तथा डीकेके भवनको मर्मत, नवीकरण र स्तरोन्नति सम्बन्धी योजनाबारे पनि छलफल गरियो। यी योजनाहरू नयाँ दिल्लीमा सिक्किम सरकारका पूर्वाधारहरूलाई थप सुदृढ़ र आधुनिक बनाउने सरकारको व्यापक पहलअन्तर्गत रहेका छन्।त्यसपछि मुख्यमन्त्रीले भवन तथा आवास मन्त्री भीमहाङ लिम्बूर विभागका वरिष्ठ अधिकारीहरूसँग बैठक गरी प्रस्तावित परियोजनाहरूको विस्तृत समीक्षा गरे। बैठकमा योजनाहरूको समयमै तथा प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तय गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।


