
दार्जिलिङ, 05 अगस्त। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज दार्जिलिङ सरकारी महाविद्यालयको ७८औँ स्थापना दिवस समारोहमा सहभागिता जनाए। महाविद्यालय परिवार र पूर्वविद्यार्थी सङ्घद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा दशकौँपछि आफ्नै शिक्षालयमा फर्कन पाएको अवसरलाई उनले आफ्नो जीवनको अत्यन्त भावुक र अविस्मरणीय क्षण बताए।मुख्यमन्त्रीसँग पश्चिम बंगाल सरकारका पर्यटन तथा संसदीय मामिला मन्त्री शङ्कर घोष, गृह तथा पहाडी मामिला राज्यमन्त्री विशाल लामा, दार्जिलिङका विधायक नोमन राई तथा अन्य विशिष्ट अतिथि एवं गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले कलेजमा बिताएका विद्यार्थी जीवनका दिनहरू सम्झँदै यस संस्थाले आफ्नो सपना, मूल्य-मान्यता र जीवन यात्रालाई दिशा दिएको उल्लेख गरे। उनले आफ्ना गुरुजन तथा कलेजप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आफ्नो भविष्यको आधार निर्माण गरिदिएकोमा सधैँ ऋणी रहने बताए।विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले समर्पणका साथ ज्ञान हासिल गर्न, शिक्षकहरूबाट सिक्न तथा विनम्रता, एकता र सेवाको भावनालाई आत्मसात् गर्न आग्रह गरे। साथै, शैक्षिक उत्कृष्टतासँगै असल चरित्र निर्माण गर्दै आफ्नै संस्कृति र सम्पदाप्रति गर्व गर्न पनि प्रेरित गरे।मुख्यमन्त्रीले कलेज र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ़ बनाउन पूर्वविद्यार्थी सङ्घले गरिरहेको प्रयासको प्रशंसा गर्दै दार्जिलिङ सरकारी कलेजको समृद्ध विरासतलाई जोगाउन सबैले सामूहिक रूपमा योगदान गर्नुपर्नेमा जोड दिए। उनले गुणस्तरीय शिक्षाको प्रवर्द्धन र राष्ट्र निर्माणमा योगदानको महत्वसमेत औँल्याए। उनले दार्जिलिङ सरकारी कलेजका प्राचार्य, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी तथा सम्पूर्ण कलेज परिवारलाई ७८औँ स्थापना दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता र उपलब्धि हासिल गर्न शुभेच्छा व्यक्त गरे।


