गान्तोक, 28 फरवरी। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर गेजिङ जिल्लाको दुई दिवसीय भ्रमणमा रहेका छन्। आफ्नो दोस्रो दिनको भ्रमण अवधि आज राज्यपालले लोसारको अवसरमा पेमायाङग्त्से गुम्पा र साङछोलिङस्थित चेरेजी गुम्पामा विशेष प्रार्थना गरे। उनले सिक्किमका मानिसहरूको दीर्घायु र शान्तिको निम्ति प्रार्थना गरे।

राज्यपालले गुम्पाका लामा र स्थानीय मानिसहरूसॅंग पनि भेट गरे अनि पेमायाङग्त्से गुम्पाको इतिहास लगायत स्थानीय परम्पराहरूको बारेमा जानकारी प्राप्त गरे। यसैगरी, उनले एसएसबीको 36औं वाहिनी र 72औं वाहिनीका शिविरहरू पनि भ्रमण गरे। उनले जवानहरूसॅंग भेट गरेर उनीहरूको हौसला बढाए। राज्यपालले सीमा क्षेत्रको सुरक्षामा जवानहरूको समर्पण र कडा परिश्रमको सराहना गरे।
यस अतिरिक्त, राज्यपाल माथुरले खेचीपेरी लेकको पनि भ्रमण गरे, जसलाई गत 22 फरवरी, 2025 मा पहिलो रामसार क्षेत्रको रूपमा मान्यता प्राप्त भएको छ। यस अवसरमा राज्यपाललाई गेजिङ जिल्ला प्रशासनिक केन्द्रको तर्फबाट स्थानीय मानिसहरूद्वारा निर्मित सामग्रीहरू भेट गरियो।
भ्रमणको क्रममा राज्यपाल कञ्चनजङ्घा वाटरफल पनि पुगे अनि यस ठाउॅंको प्राकृतिक सुन्दरताको सराहना गरे। राज्यपालले गेजिङ जिल्लामा पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको बताउॅंदै जिल्लामा पर्यटकहरूलाई आकर्षित गर्न र स्थानीय मानिसहरूको आयस्रोत बढाउनका लागि अधिकारीहरूलाई पर्यटन स्थलहरूको सुविधा विस्कार गर्न निर्देश दिएका छन्।