गान्तोक, 18 सेप्टेम्बर। राज्य भू राजस्व एवं आपदा प्रबन्धन विभाग अन्तर्गत सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले आज राजधानीको चिन्तन भवनमा राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालन गऱ्यो। 18 सेप्टेम्बर, 2011 मा आएको भुॅंइचालोको सम्झानामा आयोजन गरिएको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। कार्यक्रममा पीएचई मन्त्री सोनाम लामा, विधायक एलबी दास, मुख्य सचिव आर. तेलाङ तथा अन्य विभिन्न विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका चेयरपर्सन समेत रहेका मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा 18 सेप्टेम्बरलाई राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालन गर्नुको महत्वमाथि प्रकाश पारे। उनले 2011 मा आएको विनाशकारी भुॅंइचालो र 3-4 अक्टोबर, 2023 को हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) ले सिक्किमका जनताको शक्तिको परीक्षण मात्र गरेन, तर उनीहरूको लचिलोपनलाई पनि उजागर गरेको बताएका छन्।
मुख्यमन्त्रीले भुॅंइचालो, पैह्रो र हिमनदी जोखिमसहित सिक्किमको अद्वितीय भौगोलिक संवेदनशीलताहरूमाथि प्रकाश पार्दै सुरक्षा र दिगो प्रथाहरूको संस्कृतिमाथि जोड दिए। उनले प्राधिकरण अन्तर्गत विकास योजनामा आपदा जोखिम न्यूनीकरणलाई एकीकृत गर्न महत्वपूर्ण प्रगति भएको जानकारी गराए। उनले एनडीएमए र अन्य राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थानहरूको सहकार्यमा बहु-खतरा जोखिम मूल्याङ्कन, पैह्रो अध्ययन र हिमनदी तालहरूको वैज्ञानिक अनुगमन जस्ता पहलहरू शुरू गरिएको पनि बताए।
मुख्यमन्त्रीले पूर्व चेताउनी प्रणाली, उच्च-उचाई अभियानहरू र क्षमता-विकास कार्यक्रमहरूले राज्यको तयारी र प्रतिक्रिया ढाँचालाई बलियो बनाइरहेको बताए। उनले आपदा मित्र योजना र विभिन्न तहमा आपदा व्यवस्थापन संयोजक, पर्यवेक्षक र सहायकहरूको समावेशीकरण मार्फत तल्लो तहमा पनि आपदा तयारी सुनिश्चित गरिएको बताए। उनले प्राधिकरणमा 1,185 जना अधिकारीहरूलाई सामेल गरिएको र सिक्किमको आपदा व्यवस्थापन सञ्जालको मेरुदण्डको रूपमा काम गर्न कठोर अभ्यासहरू मार्फत प्रशिक्षित गरिएको बताए।
मुख्यमन्त्रीले जीएलओएफको उल्लेख गर्दै यसले जीवन, पूर्वाधार र पर्यटन क्षेत्रमा व्यापक प्रभाव परेको छ भने। उनले आपदापछिको आकलनपछि भारत सरकारले राहत र पुनर्निर्माणका लागि पर्याप्त आर्थिक सहयोग प्रदान गरेको र पुनर्स्थापना कार्यहरू चलिरहेको जानकारी गराए। उनले सिक्किमको कमजोर हिमालयी पारिस्थितिक प्रणालीले निरन्तर ध्यान र स्रोतहरूको माग गर्दछ र राज्यले आफ्नो आपदा प्रतिक्रिया क्षमतालाई सुदृढ पार्न भारत सरकारबाट थप सहयोग प्राप्त गर्ने प्रयास गरिरहेको अवगत गराए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार, एनडीएमए, एसडीआरएफ, एनडीआरएफ, सशस्त्र बल, राज्य सरकारका विभागहरू र नागरिक समाजप्रति आपदाको समयमा निरन्तर समर्थनको लागि कृतज्ञता प्रकट गरे। उनले प्रत्येक घरपरिवार, वार्ड र समुदायलाई सुरक्षित निर्माण अभ्यासहरू अपनाउन, तयारी अभ्यासमा भाग लिन र दिगो पर्यावरणीय उपायहरू अपनाउन आग्रह गरे। मुख्यमन्त्रीले जीविकोपार्जन र पर्यावरणको रक्षा गर्न सामूहिक कार्यको लागि आह्वान गर्दै आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Leave a comment


