गान्तोक, 01 अप्रेल। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीस्थित संसद भवनमा केन्द्रिय गृहमन्त्री अमित शाहलाई उनको कार्यालयमा भेटेर सिक्किम राज्यसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरे।
भेटका क्रममा सांसद सुब्बाले केन्द्रिय गृहमन्त्रीलाई सिक्किम विधानसभामा लिम्बू र तामाङ अनुसूचित जनजातिका लागि सिट आरक्षणको लम्बित मुद्दाको बारेमा जानकारी गराए। उनले ऐतिहासिक पृष्ठभूमि र प्रस्तावित सीमाङ्कन अभ्यासलाई ध्यानमा राख्दै यसको समाधानको तत्काल आवश्यकतामा जोड दिए र ज्ञापनपत्र पनि बुझाए। उनले समानता र पर्याप्त राजनीतिक प्रतिनिधित्वको सिद्धान्तलाई कायम राख्न यी समुदायहरूको लागि सिट आरक्षण सुनिश्चित गर्नु आवश्यक रहेको बताए।
यसरी नै सांसद सुब्बाले सिक्किमका 12 छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने मुद्दा पनि उठाए। राज्य सरकारले यो मुद्दालाई निरन्तर केन्द्र सरकारसँग उठाइरहेको अवगत गराए भने उनले राज्य विधानसभामा प्रस्ताव पारित गरिएको र यी समुदायहरूको समावेशीकरणलाई समर्थन गर्ने जातीय प्रतिवेदनहरू पनि तयार गरिएको जानकारी गराए। उनले यी समुदायहरूलाई अनुसूचित जनजातिको दर्जा प्रदान गर्नु सामाजिक न्याय सुनिश्चित गर्ने र उनीहरूको विशिष्ट सांस्कृतिक पहिचानको संरक्षण गर्ने दिशामा एक महत्वपूर्ण कदम हुने बताए।
सांसद सुब्बाले केन्द्रिय गृहमन्त्रीलाई दुवै विषयलाई प्राथमिकता दिन र चाँडो समाधानको लागि आवश्यक कदम चाल्न अनुरोध गरे। केन्द्रिय मन्त्रीले पनि यी विषयहरूमा हर सम्भव सहयोग र उचित विचारको आश्वासन दिएका छन्।
Leave a comment


