
गान्तोक, २१ सेप्टेम्बर। सिक्किम पुलिस सेवाका (एसपीएस) २०२४ ब्याचका उप-पुलिस अधीक्षकहरूले सोमबार लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेका छन्। यस अवसरमा राज्यपाल माथुरले युवा पुलिस अधिकारीहरूलाई बधाई दिँदै पुलिससम्बन्धी कानुनका विषयमा विस्तृत संवाद गरे। उनले अधिकारीहरूलाई आगामी जिम्मेवारी निर्वाहका लागि आवश्यक मार्गदर्शनसमेत प्रदान गरे।
लोक भवनका अनुसार, संवादका क्रममा राज्यपालले युवा अधिकारीहरूसँग पुलिस अधिकारीका रूपमा समाजप्रतिको आफ्नो भूमिका र दृष्टिकोणबारे प्रत्यक्ष प्रश्न गरेका थिए। अधिकारीहरूले यस विषयमा आ-आफ्ना धारणा प्रस्तुत गरे।
राज्यपालले पुलिसको मुख्य उद्देश्य समाजमा सुरक्षा र विश्वासको भावना कायम गर्नु हुनुपर्नेमा जोड दिए। उनले सिक्किमको पहिचान सौहार्दपूर्ण तथा शान्त राज्यका रूपमा रहेको स्मरण गराउँदै यस शान्तिप्रिय विरासतलाई अक्षुण्ण राख्न युवा अधिकारीहरूलाई आग्रह गरे।
बदलिँदो समयसँगै देखा परिरहेका नयाँ चुनौती, विशेषगरी साइबर अपराध तथा मादक पदार्थको बढ्दो समस्यासँग जुध्न कार्ययोजना तयार पार्नुका साथै आधुनिक प्रविधि अपनाउनुपर्नेमा पनि राज्यपालले विशेष जोड दिए।
युवा पुलिस अधिकारीहरूलाई प्रेरित गर्दै राज्यपाल माथुरले शारीरिक तथा मानसिक स्वास्थ्यप्रति विशेष रूपमा सचेत रहन सुझाउ दिए। साथै, बदलिँदो समयका कानुन तथा अपराधका नयाँ तौरतरिकाबारे जानकारी हासिल गर्न निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिँदै सिक्किम राज्यसँगै सम्पूर्ण देशका लागि अनुकरणीय उदाहरण बन्न अधिकारीहरूलाई प्रेरित गरे।


