गान्तोक, २२ सेप्टेम्बर। ‘वान फर नेपाल’ राहत अभियानअन्तर्गत सिक्किमबाट चार दिनको यात्रा तय गर्दै जर्नलिस्ट युनियन अफ् सिक्किम र नील तारा केयर्सको संयुक्त टोली मंगलबार विदुर नगरपालिकाअन्तर्गत त्रिशूली बजार पुगेको छ।
टोलीले त्रिभुवन त्रिशूली सरकारी उच्चत्तर माध्यमिक विद्यालयमा राहत सामग्री हस्तान्तरण गरेको छ। सामग्री विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई हस्तान्तरण गरिएको हो। राहत सामग्री मुख्य रूपमा हालै आएको आकस्मिक बाढीबाट प्रभावित विद्यार्थी तथा उनीहरूका परिवारलाई लक्षित गरी प्रदान गरिएको जेयूएसकी प्रचार सचिव अनुशिला शर्माले बताएकी छन्।
आकस्मिक बाढीका क्रममा प्रधानाध्यापक दवाडीले करिब ९०० विद्यार्थीको उद्धारमा सक्रिय भूमिका निर्वाह गरेका थिए। बाढीपछि विद्यालयले आफ्नो नियमित गतिविधि पुनः सञ्चालन गर्दै सोमबारदेखि विद्यार्थीका लागि पुनः पठनपाठन शुरु गरेको छ।
भ्रमणका क्रममा टोलीले विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरक्रिया गर्नुका साथै विद्यालय र आसपासका प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको बताइएको छ। टोलीले प्रभावित क्षेत्रमा नेपाल सरकार तथा गृह मन्त्रालयको पहलमा भइरहेको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यहरूको समेत अवलोकन गऱ्यो।
‘वान फर नेपाल’ अभियान प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको हो। आयोजकका अनुसार, अभियानअन्तर्गतका राहत गतिविधिलाई राहत सामग्री वितरण तथा समुदायलाई सहयोग पुर्याउने कार्यमा केन्द्रित राखिएको थियो भने अभियानको अनावश्यक प्रचार-प्रसारलाई न्यून राखिएको उल्लेख छ।
अभियानको तर्फबाट जेयूएसका अध्यक्ष प्रविण खालिङले राहत सामग्री सुरक्षित रूपमा हस्तान्तरण गर्न सहज वातावरण तथा सहयोग उपलब्ध गराएकोमा नेपालका गृहमन्त्री सुदन गुरुङ, नेपाल सरकार तथा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन्।
खालिङले राहत अभियान सम्भव बनाउन सहयोग गर्ने सिक्किमका सम्पूर्ण सहयोगी तथा प्रायोजकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले नेपाल सरकारबाट प्राप्त सहयोग तथा सिक्किमबाट प्राप्त सामूहिक समर्थनले राहत सामग्री आवश्यकतामा रहेका व्यक्तिहरूसम्म सुरक्षित रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए।
Leave a comment


