लिङचोम, 20 सेप्टेम्बर। ‘विकसित भारतका लागि नशामुक्त युवा’ अभियानअन्तर्गत १०० हप्ताव्यापी नशामुक्त युवा अभियानको एक हिस्साका रूपमा आज लिङचोमस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा राष्ट्रिय सङ्कल्प समारोह आयोजना गरियो। कार्यक्रममा युवाहरूको सहभागिता, जनचेतना अभिवृद्धि तथा लागूपदार्थ दुव्र्यसनविरुद्ध सामूहिक प्रयासमा विशेष जोड दिइएको थियो।कार्यक्रममा विद्यार्थी तथा युवाहरूलाई लागूपदार्थबाट टाढा रहने र स्वस्थ तथा सुदृढ समाज निर्माणमा योगदान गर्ने सङ्कल्प गराउँदै युवा शपथ तथा हस्ताक्षर अभियान सञ्चालन गरियो।सरकारी वरिष्ठ माध्यमिक विद्यालयकी प्रधानाध्यापिका सानिता तामाङ कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित थिइन्।माइ भारतका स्वयंसेवक भानु शर्मा र लेखक शर्माले सहभागीहरूलाई लागूपदार्थ दुव्र्यसनका कारण उत्पन्न हुने सामाजिक असर तथा समुदायस्तरमा निरन्तर जनचेतनामूलक प्रयासको आवश्यकताबारे जानकारी गराए।माइ भारतका जिल्ला युवा अधिकारी प्रदीप बैसलाले अभियानका उद्देश्य तथा सञ्चालन भइरहेका गतिविधिबारे सहभागीहरूलाई जानकारी दिँदै नशामुक्तिको सन्देशलाई तल्लो तहसम्म पुर्याउन युवा क्लब, राष्ट्रिय युवा स्वयंसेवक तथा स्वयंसेवकहरूको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारे।कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागितामा प्रश्नोत्तरी प्रतियोगिता पनि आयोजना गरिएको थियो। कार्यक्रमले नशामुक्त युवा र विकसित भारतको परिकल्पनालाई साकार पार्न माइ भारतका स्वयंसेवक, राष्ट्रिय युवा स्वयंसेवक तथा युवा क्लबहरूको सामूहिक प्रतिबद्धता पुनः पुष्टि गरेको बताइएको छ।


