
नाम्ची, 03 अक्टोबर । सिक्किम आमा सशक्तीकरण योजनाअन्तर्गत लाभ वितरण कार्यक्रमलाई निरन्तरता दिँदै पोकलोक-कामराङ निर्वाचन क्षेत्रअन्तर्गतका ६ वटा ग्राम पञ्चायत एकाइका ४४५ लाभग्राहीलाई आज नाम्चीस्थित खण्ड प्रशासन केन्द्रमा योजनाको चेक हस्तान्तरण गरिएको छ। शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राईले लाभग्राहीहरूलाई चेक हस्तान्तरण गरेका हुन्।पोकलोक-कामराङ निर्वाचन क्षेत्रअन्तर्गत टिङरिथाङ, कामराङ, आसाङथाङ, दामथाङ, माम्ले र सोरोक-श्याम्पानी ग्राम पञ्चायत एकाइका योग्य लाभग्राहीहरूले खण्ड प्रशासन केन्द्र, नाम्चीमा चेक प्राप्त गरे।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले दैनिक जीवनमा उपयोगी हुने आर्थिक सहायता उपलब्ध गराइएको बताए। उनले लाभग्राहीहरूलाई प्राप्त रकम विभिन्न सकारात्मक तथा आयमूलक गतिविधिमा सदुपयोग गर्न आग्रह गरे।मन्त्री राईले हाल विभिन्न योग्यता तथा मापदण्डका आधारमा योग्य आमाहरूलाई मात्र योजनाका लाभग्राहीका रूपमा छनोट गरिएको बताए। लाभग्राही छनोटका लागि पञ्चायत तथा सम्बन्धित विभागका अधिकारीहरूले छानबिन प्रक्रिया पूरा गरेको उनले जानकारी दिए। योग्य आमाहरू योजनाको लाभबाट वञ्चित नहुन् भन्ने उद्देश्यले यो छानबिन गरिएको उनले बताए।उनले लाभग्राहीहरूलाई चेकमा नाम वा ठेगाना गलत उल्लेख भएको पाइएमा त्यसलाई सच्याउन पनि आग्रह गरे। राज्य सरकार जनताको सामाजिक-आर्थिक विकासका लागि सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्न तथा जनजीवनलाई सहज बनाउन प्रतिबद्ध रहेको उनले बताए।कार्यक्रमलाई सम्बोधन गर्दै नाम्चीका खण्ड विकास अधिकारी उपेन्द्र राईले लाभग्राही छनोट तोकिएका योग्यता तथा मापदण्डअनुसार कडाइका साथ गरिएको बताए। उनले लाभग्राहीहरूलाई प्राप्त रकम उचित रूपमा सदुपयोग गर्न आग्रह गर्दै सम्बन्धित ब्यांकको प्रक्रिया पूरा गरी चेक जम्मा गर्न पनि अनुरोध गरे।


