
पाकिम, 03 अक्टोबर। मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिवार रिनाक निर्वाचन क्षेत्रका 1,000 योग्य आमालाई आमा सशक्तिकरण योजनाअन्तर्गत चेक हस्तान्तरण गरेका छन्। यस कार्यले सम्पूर्ण सिक्किमका महिलाको आर्थिक स्वतन्त्रता र सम्मानलाई सुदृढ़ पार्ने राज्य सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।यस अवसरमा मुख्यमन्त्रीले योजनाका लाभग्राही-आमा, दिदीबहिनी र रिनाकका जनतामाझ उपस्थित हुन पाउँदा अत्यन्त खुशी लागेको बताए। उनले यसैगरी राज्यभरिका विधायकहरूले पनि आ-आफ्ना निर्वाचन क्षेत्रमा योग्य आमाहरूलाई 1,000 चेक हस्तान्तरण गरिरहेको अवगत गराए।यस पहलको उद्देश्यबारे बोल्दै मुख्यमन्त्रीले आफूले प्रेम, करुणा, त्याग र शक्तिको वास्तविक अर्थ आफ्नै आमाबाट सिकेको बताए। उनले भने, “आमाको सङ्घर्ष, आशीर्वाद र निस्वार्थ प्रेमले नै आफ्नो जीवनलाई आकार दिएको हो र तिनै कुराहरूले सरकारका महिला तथा आमाकेन्द्रित पहलहरूलाई निरन्तर प्रेरित गरिरहेका छन्।”उनले आमा सशक्तिकरण योजना आर्थिक सहायता कार्यक्रम मात्र नभएर आमाहरूलाई अझ बढ़ी आर्थिक शक्ति, आत्मविश्वास तथा आफू र आफ्नो परिवारका लागि निर्णय लिने क्षमता प्रदान गर्ने उद्देश्यले ल्याइएको पहल हो।उनकाअनुसार, यस सहयोग रकमलाई बालकबालिकाको शिक्षा, घरायसी आवश्यकता, कृषि, पशुपालन, साना उद्यम वा जीविकोपार्जनका अन्य गतिविधिलगायत प्रत्येक लाभग्राहीको आवश्यकता र प्राथमिकताअनुसार सदुपयोग गर्न सकिन्छ।मुख्यमन्त्रीले ‘आमा सम्मान पुरस्कार’ र ‘प्रगतिशील आमा पुरस्कार’ जस्ता पहलमाथि पनि प्रकाश पारे। यी पुरस्कारहरू योग्य आमाहरूको योगदानको कदर गर्न तथा योजनाअन्तर्गत प्राप्त सहयोगको सदुपयोग गर्ने प्रेरणादायी उदाहरणहरूलाई सम्मान गर्न शुरु गरिएका हुन्।उनले अझ भने, “सरकारका बृहत् महिलाकेन्द्रित पहल-जस्तै आमा सहयोग योजना, वात्सल्य योजना, बहिनी योजना, शिशु समृद्धि योजना, मातृत्व लाभ, सरकारी सेवामा महिलाका लागि आरक्षण, स्वास्थ्य सेवासम्बन्धी पहल तथा महिलाको सम्मान र सुरक्षाका उपायहरूले आमा, छोरी र दिदीबहिनीहरूको सशक्तीकरण र कल्याणका लागि एक व्यापक दृष्टिकोण झल्काउँछन्।” उनले यी योजनाहरू सिक्किमका महिलाहरूको जीवनलाई अझ सुरक्षित, मर्यादित, आर्थिक रूपमा आत्मनिर्भर र सशक्त बनाउने बृहत् प्रतिबद्धताको एक हिस्सा रहेको बताए।सिक्किमका आमा तथा दिदीबहिनीहरूबाट पाएको माया र आशीर्वादको स्मरण गर्दै मुख्यमन्त्रीले भने, “यस्तो ऋण पैसाले चुक्ता गर्न सकिँदैन। यसको सम्मान केवल समर्पित जनसेवामार्फत गर्न सकिन्छ।” उनले सिक्किमका आमा र छोरीहरूको मर्यादा, सशक्तीकरण र कल्याणका लागि आफ्ना प्रयासहरू पूर्ण निष्ठाका साथ जारी रहने दोहोर्याए।महिला सशक्तीकरणको बृहत् महत्त्वमाथि प्रकाश पार्दै उनले भने, “सशक्त आमाहरूले सशक्त परिवारको निर्माण गर्छन्, सशक्त परिवारले सशक्त समाज बनाउँछन् र सशक्त समाजले अझ बलियो सिक्किम निर्माणमा योगदान पुर्याउँछ।”आफ्नो सम्बोधनको समापन गर्दै मुख्यमन्त्रीले भने, “सरकारको उद्देश्य आमाको हातमा चेक थमाउनु मात्र होइन, बरु उनको हातमा सामर्थ्य, हृदयमा आत्मविश्वास र आफ्नै भविष्य कोर्ने शक्ति प्रदान गर्नु हो।”“सशक्त आमाको अर्थ सशक्त परिवार, सशक्त समाज र बलियो सिक्किम हो। यो हाम्रो परिकल्पना मात्र होइन, यो सिक्किमका हरेक आमासँग गरिएको हाम्रो वाचा हो”, मुख्यमन्त्रीले भने।


