मङ्गन, 04 अक्टोबर। चुङ्थाङको पञ्चायत भवनमा आइतवार चुङ्थाङ जीपीयू, लाचेन, लाचुङ जुम्सा र सङ्घ निर्वाचन क्षेत्रका लाभग्राहीहरूका लागि सिक्किम आमा सशक्तिकरण योजनाअन्तर्गत चेक वितरण कार्यक्रम आयोजना गरिएको छ। महिला, बालकबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका मन्त्री एवं लाचेन-मङ्गन निर्वाचन क्षेत्रका विधायक सामडुप लेप्चाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा सिक्किम कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा, औषधीय वनस्पति बोर्डका अध्यक्ष सोनाम ग्याछो लाचेनपा, लाचेन र लाचुङ जोमसाका पिपोन, चुङ्थाङ जीपीयूका जिल्ला तथा ग्राम पञ्चायत सदस्य, चुङ्थाङका महकुमा अधिकारी अरुण क्षेत्री, उपनिर्देशक तथा सीडीपीओ सोनाम लाडेन लाचुङ्पा, चुङ्थाङका बीडीओ जोना तार्गेन, चुङ्थाङका एसडीपीओ चन्दन छेत्रीसहित अन्यको उपस्थिति रहेको थियो।
मन्त्री तथा क्षेत्र विधायक सामडुप लेप्चाले आफ्नो सम्बोधनमा राज्यका आमाहरूको समग्र उत्थानका लागि यो योजनाको परिकल्पना गरेकोमा मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरे। उनले योग्य लाभग्राहीहरूलाई प्रदान गरिएको आर्थिक सहायताले अति आवश्यक राहत पुर्याउन ठूलो भूमिका निर्वाह गर्ने बताए। उनले आमा सशक्तिकरण योजना देशमै यस प्रकारको पहिलो पहल भएको कुरा दोहोर्याउँदै आमाहरूलाई यसको महत्त्व बुझ्न र प्राप्त रकमको विवेकपूर्ण सदुपयोग गर्न आग्रह गरे।
मन्त्रीले विभिन्न क्षेत्रमा राज्य सरकारले ल्याएका जनकेन्द्रित पहलहरूबारे पनि प्रकाश पारे। कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन संलग्न सबैप्रति कृतज्ञता व्यक्त गरे।
यसअघि, मन्त्री तथा क्षेत्र विधायकले कार्यक्रम स्थलमा भेला भएका 360 भन्दा बढ़ी लाभग्राहीहरूका साथै सङ्घ निर्वाचन क्षेत्रका लाभग्राहीहरूलाई सिक्किम आमा सशक्तिकरण योजनाका चेकहरू हस्तान्तरण गरे।
Leave a comment


